|

काठमाडौँ : तराई-मधेसमा बाक्लो हुस्सु‚ कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 


कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा आगामी केही दिन हुस्सुकुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे।

भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। उनले भने‚ ‘तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित छ।’ 

‘केही विमानस्थल १२ बजेपछि खुल्छन् कि भन्ने प्रतीक्षामा छौँ, उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ’‚ उनले भने। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज भद्रपुर र पोखराबाहेक सबै विमानस्थलको उडान प्रभावित छ। बिहानैदेखि उडान प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।
    
आन्तरिकतर्फ दैनिक करिब तीनसय उडान हुन्छन्। बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब १५० उडान हुन्छ। यती एयरलाइन्सको दैनिक ५८ उडान हुने गरेको छ। यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन्। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन्।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि तराई भूभागको केही स्थानमा हुस्सुकुहिरो लाग्नुका साथै देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज काठमाडौंको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.६ डिग्रिसेल्सियस रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.