२० लाख बढी खर्च, फेरियो व्यवस्थापन

|

धनगढी : देश संघीय प्रणालीमा गएपछि बनेको सुदूरपश्चिम प्रदेश सरकारको अस्थायी राजधानी धनगढीमा छ। उसो त प्रदेश सरकार गठन भएपछि कैलालीको गोदावरीमा स्थायी राजधानी तोकिएको थियो। प्रदेशको संसद्ले दुई तिहाइ बहुमतका साथ गोदावरीमा राजधानी तोकेको हो।

तर, त्यो सरकारको कार्याकाल सकिनै लाग्दा पनि स्थायी राजधानी नामोनिसान छैन। अर्थात् कुनै पनि संरचना निर्माण भएका छैनन्।

जसका कारण दोस्रो कार्यकालका लागि (अहिले) आम निर्वाचन २०७९ बाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरूले धनगढीमै शपथ लिनुपर्ने भएको छ। स्थायी राजधानीको टुंगो नलागेको अवस्थामा अस्थायी मुकाममै सपथ ग्रहण गनुपर्ने भएको हो।

५ वर्ष अघिदेखि धनगढीस्थित जिल्ला समन्वय समिति कैलालीको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेको छ। त्यसैले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेश सांसदहरूले पनि अब यसै भवनमा शपथ लिने जनाइएको छ। आगामी संसद्का प्रदेशसभा बैठकहरू पनि यहीँबाट सञ्चालन हुने छन्। प्रदेशसभा सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको स्वागतमा पर्खिरहेको प्रदेशसभा भवनलाई सजावट तथा व्यवस्थित पार्ने काम अन्तिम चरणमा पुगेको छ।

प्रदेश सभामा भवनमा अहिले धमाधम भित्री व्यवस्थापनको काम भइरहेको छ। अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ नयाँ माइकहर राखिएका छन्। नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरूको लागि नयाँ टेबल पनि राखिएको छ।

 पुराना टेबल अहिले थन्काइएको छ। प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिँदै छ।

प्रदेश सभा सचिवालयका कर्मचारीहरू यो काममा खटिएको भए पनि यसको खर्च भने प्रदेश सभा वा प्रदेश सरकारले गरिरहेको छैन। नीति निर्माण गर्ने यो स्थानको व्यवस्थापनमा अहिले दाता निकायले खर्च गरिरहेको छ। युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजना मार्फत सुदूरपश्चिम प्रदेश सभामा धमाधम व्यवस्थापनको कामहरू भइरहेका छन्।

 युएनडिपीले अघिल्लो पटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यही उपकरणका लागि आर्थिक सहयोग गरेको छ।

यसअघि प्रदेश सभा सुरु भए लगत्तै प्रदेश सभाकै लगानीमा जडान भएका माइकहरू हटाएर युएनडिपीले डिजिटल माइक जडान गरेको थियो। अहिले फेरि पुरानै शैलीको माइक जडान सुरु गरेको छ। सचिवालयले युएनडीपीको २० लाख रुपैयाँ लगानीमा प्रदेशसभा भवनमा विद्युतीय उपकरण र फर्निचर लगायतका सामग्री फेरेर नयाँ राखेको जनाएको छ। त्यस्तै रोष्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा नयाँ माइक जडान भइसकेका छन्।

त्यसबाहेक पुरानो टेबल हटाएर ५४ पिस नयाँ टेबल राखिएको छ। पुरानो भद्दा भएको र जोडिएको टेबल भएको भन्दै नयाँमा लगानी गरिएको हो। त्यति मात्रै होइन दाताकै सहयोगमा प्रदेश सभालाई चिटिक्क बनाउन रेलिङसमेत बनाइँदै छ। दाताकै सहयोगमा २ स्पिकर र एउटा मिक्चर पनि थप गरिएको छ।

दाताको सहयोगमा अहिले प्रदेश सभा व्यवस्थापनको काम गरिएको सूचना अधिकारी युवराज जैशीले बताए। उनका अनुसार प्रदेशसभाको लोगोको आकार बढाएर ठूलो बनाउने तयारी पनि छ।

‘हामीले नयाँ आउने प्रदेशसभाको बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी करिब पूरा गरिसकेका छौँ। माइक र फर्निचरका सामान फेर्ने काम भइसकेको छ’, जैशीले भने, ‘रोस्टमको सेटअप र लोगो राख्ने लगायतका स–साना काम मात्रै बाँकी छन्।’

यस्तै नवनिर्वाचित प्रदेशसभा सदस्यहरूका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि भइरहेको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेशसभा सदस्यको सपथ ग्रहण र बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी भइरहेको बताए।

बोगटीले निर्वाचन आयोगले बुझाउने विवरणका आधारमा प्रदेशसभाको ज्येष्ठ सदस्यको पहिचान गरेर प्रदेश प्रमुखबाट सुरुमा उनलाई शपथ ग्रहण गराइने बताए। ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनेछन् भने सभामुख चयन नहुँदासम्म प्रदेशसभाको बैठक पनि ज्येष्ठ सदस्यले नै सञ्चालन गर्नेछन्। अहिलेको व्यवस्थापनले प्रदेश सभा सदस्यहरूलाई सहज हुने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.