|

धनकुटा : १६ औँ शहीद भीमनारायण गोल्डकपअन्तर्गत बुधबार आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान र सलहेस फुटबल क्लब सिराहाबीच खेल हुँदै छ। उक्त खेल धनकुटाको तल्लो टुँडिखेलमा दिनको ३ बजेबाट शुरु हुने आयोजकले जनाएको छ।

यो खेल पहिलो चरणको अन्तिम खेल भएको र बिहीबारदेखि सेमिफाइनलका खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। सेमिफाइनलको पहिलो खेल बिहीबार विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ भने सेमिफाइनलको दोस्रो खेल शुक्रबार बिर्तामोड युनाइटेड क्लब र बुधबारको विजेताबीच हुनेछ। दुवै सेमिफाइनल खेलका विजेताबीच शनिबार फाइनल खेल हुने संयोजक प्रधानले बताए।

यसअघि मंगलबार भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै राष्ट्रिय जागृति क्लब सेमिफाइनल पुगेको छ। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। निर्धारित समयमा खेलको पहिलो हाफको २५ औँ मिनेटमा जागृतिका उमेश राईले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि पहिलो हाफकै इन्जुरी समयमा बुटवलका विवेक गुरुङले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

त्यसपछि खेलको दोस्रो हाफमा कुनै गोल नभएपछि खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा राष्ट्रिय जागृतिका सुमित चौधरी, उमेश राई, असीम राई, प्रवेश दनुवार र मिलन राईको प्रहारले जाली चुमेपछि राष्ट्रिय जागृति क्लब विजयी बनेको थियो।

बुटवल लुम्बिनी फुटबल क्लबका तर्फबाट विवेक गुरुङ, एल्भिन राई, आयुष घलान र विदेशी खेलाडी करिम ओमोलोगा गोल गरे भने चन्दन दासको प्रहार गोलपोष्टको माथिबाट बाहिरएको थियो।

दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल‚ कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.