इलाम : गाउँगाउँमा सडक विस्तार भएसँगै किसानहरूलाई आफ्नो उत्पादन बिक्री वितरण गर्न सहज भएको छ।
इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्।
यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिले सूर्योदय नगरपालिका, रोङ गाउँपालिकाको विभिन्न गाउँमा उत्पादन भएका तरकारी झापाका बजारहरुमा उज्यालो नहुँदै पुग्छन्।
किसानहरुले उत्पादन गरेको टमाटर, साग, आलु, इस्कुस लगायतका तरकारी मेची राजमार्गमा निकालेपछि सहज रुपमा झापाका बजारहरुमा पुग्ने गरेको छ। तराईका अन्य जिल्लाहरुमा उत्पादन भएको तरकारी भन्दा इलामको तरकारी ताजा हुने भएकोले तरकारीको मूल्य राम्रो हुने गरेको हो।
रोङ गाउँपालिकाको कोल्बुङ्ग र सूर्योदय नगरपालिकाको कन्याम र पञ्चकन्याका किसानहरुले व्यवसायीक रुपमा टमाटर, इस्कुस, अकबरे लगायतका तरकारीहरुबाट राम्रो आम्दानी लिँदै आएका छन्। किसानहरुले सिजनमा दैनिक १० टन बढी इस्कुस झापाको बिर्तामोड, दमक, धुलावारी र भारतको सिलिगुडि बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।
इस्कुस खेतीबाट मात्र यस क्षेत्रका किसानहरुले वर्षमा पाँच लाखसम्म आम्दानी गर्दै आएको पाइन्छ। इस्कुसको जरा, मुन्टा र फलसमेत बिक्री हुने भएकाले यसलाई किसानले आम्दानीको स्रोत बनाएका छन्।
एउटै गाउँमा किसानले व्यावसायिक काँक्रा खेती गरेर वर्षमा ५० लाख बढी आम्दानी गर्दै आएका छन्। किसानहरुले मौसमी र बेमौसमी तरकारी खेती गरी यसैको आम्दानीले घर खर्च चलाउँछन्।
जिल्लाका क्षेत्रका किसानले पनि व्यवसायीक तरकारी खेतीबाट आम्दानी गर्दै आएको किसान सागर पराजुली बताउँछन्।
सीमा क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीबाट वार्षिक एक करोड भारतीय रुपैयाँ नेपाल भित्रने गरेको पशुपतिनगरका कमल गदालले बताए। भारतीय व्यपारीले सीमावर्ती मानेभञ्ज्याङ्ग, पशुपतिनगर, जौबारी, तुम्लिङ्ग लगायका व्यापारिक केन्द्रबाट तरकारी खरिद गर्दै आएका छन्।
यस क्षेत्रमा उत्पादित तरकारी भारतको पर्यटकीय क्षेत्र दार्जिलिङ्गमा निकासी हुने गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यबाली नहुने भएकाले तरकारी खेती किसानको मूख्य आयश्रोत रहेको छ।
माइ नगरपालिकामा व्यावसायिक रूपमा केरा खेती फस्टाउँदै गएको छ। चुरे क्षेत्र केरा खेतीका लागि उपुयुक्त भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दै आएका हुन्। बजारको समस्या नहुने र श्रम पनि कम लाग्ने गरेका कारण केरा खेतीमा किसानको आकर्षण बढेको हो।
केरा खेती पछिल्लो समय सो क्षेत्रको मुख्य नगदेवाली समेत हुदै गएको छ। किसानका अनुसार केराखेती उत्पादन राम्रो भए पनि प्राविधिक सहयोगको अभाव छ। माई नगरपालिका क्षेत्रको दानाबारीबाट एक हप्तामा २० ट्रयाक्टरभन्दा बढी केरा झापाका बजारमा निकासी हुने गरेको छ।
प्राविधिक सहयोग भए अझ केरा खेतीको विस्तार गर्न सकिने किसान बताउँछन्। अहिले माइ नगरपालिकाको १,२, ४ र ५ नम्बरमा व्यवसायीक रुपमा चिनीचम्पा, जाजी, माल्बोक जातका केराहरु किसानले खेती हुँदै आएको छ।
किसानले ठेकदारी तरिकाले १० हजारदेखि ६० हजारसम्ममा बगान बिक्री गर्दै आएका छन्। माई नगरपालिकामा उत्पादन हुने केरा काठमाण्डौमा कालीखोलाको केराको नामले चिनिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।