|

काठमाडौं : जाडो मौसममा बालबालिकादेखि वृद्धसम्म धेरैलाई सताउने स्वास्थ्य समस्यामध्ये एक हो निमोनिया।

यो मौसममा अस्पताल पुग्नेमध्ये धेरैमा श्वास प्रश्वाससम्बन्धी समस्या देखिन्छ भने त्यसमध्ये पनि धेरैमा निमोनिया देखिन्छ। चिसोका कारण धेरैमा रुघाखोकी तथा घाँटीको समस्या देखिन्छ तर धेरैले सामान्य मानेर अस्पताल नजाने गरेको पाइन्छ।

तर रुघाखोकीलाई सामान्य मानेर समयमै उपचार नगरे निमोनिया हुन सक्छ। निमोनिया भएपछि समयमै उपचार गरिएन भने यसले स्वास्थ्यमा जटिलता थपिदिन्छ।

फोक्सोमा असर गर्छ निमोनियाले

निमोनिया श्वास प्रश्वाससँग सम्बन्धित एउटा रोग हो। मानव शरीरमा दुईवटा फोक्सो हुन्छन्। चिसो तथा अन्य कारणले गर्दा छातिमा असर गर्दा त्यसको प्रत्यक्ष असर फोक्सोमा पर्छ। फोक्सोमा संक्रमण हुँदा निमोनिया हुन्छ। निमोनियाले बिगार्ने भनेको फोक्सो नै हो। फोक्सोको काम बाहिरको स्वस्थ हावा लिएर शरीरलाई चाहिने अक्सिजन पूर्ति गर्ने र कार्बनडाइअक्साइड बाहिर फाल्ने हो।

रुघाखोकी लामो समय ठीक भएन वा बिग्रियो भने निमोनिया हुने सम्भावना धेरै हुन्छ। हामीले श्वास लिँदा हावाको माध्यमबाट बाहिर वायुमण्डलमा रहेका किटाणु (ब्याक्टेरिया) फोक्सोमा पुग्छ र त्यहाँ ब्याक्टेरियाले संक्रमण गरेपछि निमोनिया हुन्छ।

फोक्सोमा संक्रमण भएपछि यसले हावा छान्ने काम गर्न सक्दैन। जसको कारणले शरीरले आवश्यक मात्रामा अक्सिजन पाउन सक्दैन। शरीरले आवश्यक अक्सिजन पाउन नसकेमा श्वास प्रश्वास अवरुद्ध भई मानिसको मृत्युसमेत हुन सक्छ। निमोनियाको उपचार समयमै हुन सकेन भने फोक्सोमा भाइरस, ब्याक्टेरिया र फंगसको संक्रमण हुन थाल्छ।

निमोनिया जुनसुकै समयमा हुने भए पनि चिसो मौसममा निमोनिया संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, ढुसी, माइक्रोप्लाज्म अथवा परजीविहरू बढी सक्रिय हुने हुँदा यो समयमा निमोनियाको समस्या धेरै देखिने गर्छ।

निमोनियालाई प्रारम्भिक अवस्थामा उपचार गरिएन भने यसैको कारण फोक्सोमा पानी जम्ने, पीप जम्ने हुन्छ। त्यसैले निमोनिया हुनासाथ वा शुरुकै अवस्थामा उपचार गर्नुपर्छ जसको कारणले फोक्सोमा अरु गम्भीर असर हुन पाउँदैन।

निमोनियाको जोखिम विशेषगरी रोग प्रतिरोधात्मक क्षमता थोरै भएकाहरूलाई बढी हुन्छ। लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, फोक्सो, मुटुसम्बन्धी रोग, सुगर, बाथ भएका, किमोथेरापी गरिरहेका, मिर्गौलाका बिरामी र एचआइभी संक्रमितहरूको रोगसँग लड्ने क्षमता कम हुने भएकाले निमोनियाको संक्रमण चाँडै हुन्छ।

निमोनिया भए नभएको यसरी थाहा पाउने

धेरै जनाले निमोनियाको लक्षण देखिन थालिसकेको अवस्थामा पनि गम्भीर प्रकारको रुघाखोकी हो भनेर घरेलु उपचार नै गरेर घरमै बसेको पाइन्छ।

अझै चिसो मौसममा चिसोको कारणले रुघाखोकी नै त हो नि भनेर घरमा नै घरेलु उपचार गरेर बस्ने र सिकिस्त भएपछि मात्र अस्पताल आउने गरेको बिरामीहरूसँग कुरा गर्दा थाहा पाइन्छ।

तर मुख्य कुरा के हो भने निमोनियाको संक्रमण हुँदा हाम्रो शरीरमा रुघाखोकीका भन्दा केही फरक लक्षण देखिन्छन्।

निमोनिया हुँदा तीव्र ज्वरो आउने, चिसो महसुस हुने, छाति दुख्ने, थकान महसुस हुने, खोकी लाग्ने,  कहिलेकाहिँ खकारमा रगत पनि देखिने, श्वाश प्रश्वासमा समस्या आउने तथा रक्तचाप कम हुनुका साथै मुटुको धड्कन पनि घटेको अनुभव हुन्छ।

रुघाखोकी लागेको वेला यस्ता लक्षण देखिएका छन् भने चिकित्सककहाँ परीक्षणका लागि जानु पर्छ। उपरोक्त लक्षणका साथै थकान महसुस हुने, जोर्नीहरू दुख्ने, ओँठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने, टाउको दुख्ने, मन परिवर्तन भइरहने र मानसिक क्षमता घट्ने तथा होस हराउने जस्ता लक्षण पनि देखा पर्दछन्। यस्तो लक्षण देखिए छातिको एक्सरे गर्दा दाग देखियो भने निमोनिया भएको भनेर बुझ्नु पर्छ।

निमोनियाबाट बच्न यी कुरामा ध्यान दिने

जुनसुकै मौसममा पनि निमोनियाबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको धुवाँ, धुलोबाट र रुघाखोकीबाट जोगिनु नै हो।

तर चिसो मौसममा अन्य समयको तुलनामा निमोनियाको जोखिम धेरै हुने भएकाले यो मौसममा सकेसम्म चिसोबाट जोगिनु र रुघाखोकी लाग्न नदिनु नै उत्तम उपाय हो। चिसो हावामा नहिँड्ने, चिसो खानेकुरा सकभर नखाने गर्नु पर्छ। यसका साथै वृद्धवृद्धा तथा बालबालिकालाई निमोनियाविरुद्धको खोप लगाउन पनि सकिन्छ।

निमोनियाविरुद्धको खोप केही मँगो छ तर यो खोप लगाएको ५ वर्षसम्म काम गर्छ। निमोनियाविरुद्धको खोप जोखिम समूह हेरेर राष्ट्रिय खोप कार्यक्रममा नै जोड्न सकियो भने निमोनिया संक्रमणबाट हुने धेरै स्वास्थ्य जोखिमबाट जोगाउन सकिन्छ। इन्फ्लुएन्जाविरुद्धको खोप पनि वर्षमा एक पटक लगाउन सकिन्छ‚ यसले पनि निमोनियाबाट बचाउन सक्छ।

लामो समय रुघाखोकी निको नभए, ज्वरो आए वेलैमा चिकित्सकलाई देखाउनु पर्छ। निमोनियाको औषधी चिकित्सकले दिएको अवधिभर नियमित सेवन गर्नुपर्छ। बीचमा औषधी सेवन गर्न छाडेमा औषधीभन्दा ब्याक्टेरियाको क्षमता बढ्न जान्छ र निमोनिया बल्झन सक्छ। यस्तोमा सो औषधीले काम नगर्न सक्छ। यसका साथै चुरोट बिँडी पनि सेवन गर्नु हुँदैन।

घरबाहिर निस्कँदा मास्क लगाएर निस्कनु पर्छ। तातो र झोलिलो खानेकुरा खानाले पनि निमोनियाबाट धेरै हदसम्म जोगिन सकिन्छ।

(त्रिवि शिक्षण अस्पताल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप-प्राध्यापक डा निरज बमसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.