|

वासिङ्टन डीसी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर काम भइरहेको बताए। तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित १७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई  सरकारले प्राथमिकता दिएको दाबी गरे।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको दाबी गरे। ‘नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकार सुनिश्चित गरेको छ’, उनले भने, ‘आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ।’

युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए। उनले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए। 

बैठकमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.