काठमाडौँ : वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाकोषमा जोडिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि,२०७९ पारित गर्दै उक्त व्यवस्था गरेको हो।
मंगलवार राजधानीमा कार्यक्रम आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र सामाजिक सुरक्षा मन्त्रालयका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले संयुक्त हस्ताक्षर गर्दै उक्त कार्यविधि सार्वजनिक गरिएको हो। वैदेशिक राेजगारीमा रहेका योगदानकर्ताले दुर्घटना तथा अशक्त योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षाकोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ।
मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७.४८ प्रतिशत रकम विनियोजन गरिनेछ। वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम विनियोजन गरिएको छ। कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सुविधा प्राप्त गर्न सक्नेछन्।
योगदानकर्ताले योगदानका आधारमा घरकर्जाबापत ७५ लाख, शैक्षिककर्जाबापत ३५ लाख, योगदानकर्ताका श्रीमान् वा श्रीमतीलाई एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा हुनेछ। यस्तै कोषले चिकित्सा, इन्जिनियरिङ जस्ता प्राविधिक विषय अध्ययन गर्ने प्रत्येक प्रदेशमा १२ जनालाई वार्षिक पाँच लाख छात्रवृत्ति प्रदान गर्ने भएको छ। त्यसैगरी घातक रोग लागेमा १० लाख र एकलाखसम्मको औषधि उपचार सेवा लिन सक्नेछन्। ७ लाख दुर्घटना बिमा, कोषमा योगदान गर्नेले ६० वर्षपछि पेन्सन पाउनेछन्।
योगदानकर्ताले अग्रिम भुक्तानी गर्नसक्ने
सामाजिक सुरक्षामा योगदान गर्न चाहने योगदानकर्ताले अग्रिम भुक्तानी गर्न सक्ने भएका छन्। यसरी अग्रिम भुक्तानी गर्दा छुटको समेत व्यवस्था गरिएको सामाजिक सुरक्षाकोषले जनाएको छ। मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार कोषमा योगदान गर्नुपर्ने ६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रूपमा कोषमा जम्मा गर्ने योगदानकर्तालाई सञ्चालक समितिले निर्णय गरी जम्मा गर्नुपर्ने रकमको १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
कोषमा जोडिन चाहने अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम् आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत बराबर रकम योगदान गर्नुपर्नेछ। यसमा श्रमिकले ११ प्रतिशत रकम र सरकारले ९.३७ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
विदेशमा रहेका नेपाली कसरी जोडिने ?
वैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगारमा रहेका व्यक्तिले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था छ। जसका लागि आवेदन दिँदा श्रमिकको नेपाली नागरिकता वा राहदानी र श्रम स्वीकृतको प्रतिलिपि लगायत तोकिएका विवरण पेश गर्नु पर्नेछ। श्रमिकले आफूले काम गर्ने कम्पनी त्यसको नियुक्ति पत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ। वैदेशिक रोजगारीमा जाने श्रमिक भने श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत हुनुपर्नेछ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।