|

काठमाडौं : काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिए। चुडालको राजीनामासँगै महानगर प्रहरीभित्रको विवाद सतहमा आयो। 

चुडालले राजीनामा बुझाए पनि स्वीकृत भने भएको छैन। मेयर बालेन साहको प्रिय पात्र मानिने महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आफूभन्दा मुनिका कर्मचारीमाथि अत्याचार गरेको आरोप छ। पाण्डेले गत भदौमा प्रमुखको जिम्मेवारी पाएका थिए। महानगर प्रहरीमा पाण्डेको आगमनसँगै महानगर व्यवस्थित भएको चर्चासमेत हुने गरेको छ।

फुटपाथ व्यवस्थापन, पार्किङ, अन्डरग्राउन्ड खाली गराउनेलगायत क्षेत्रमा राम्रो काम भएको भन्दै चर्चा पाएका पाण्डेले आफ्नै कर्मचारीमाथि अत्याचार गरेको आरोप खेपेका छन्। उनी आएसँगै अव्यवस्थित घर, टहरा हटाउने कामलाई निरन्तरता दिइरहेका छन्। तर यता आफूभन्दा जुनियर कर्मचारीमाथि अत्याचार गरेको भन्दै कनिष्ठ राजीनामा नै दिएका छन्।  

३० वर्ष महानगरको नगर प्रहरी सेवामा कार्यरत सई चुडालले महानगर प्रशासनलाई राजीनामा पत्र बुझाएका हुन्। अन्य तल्ला तहमा कार्यरत नगर प्रहरीहरूसमेत नेतृत्वसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिइरहेका छन्। नगर प्रहरीमा सेवा गर्न थालेको ३० वर्षमा जसभन्दा अपजस बढी बेहोर्नु परेको उनको तर्क छ। उनले भने, ‘तल्ला तहका प्रहरीको गुनासो समस्या नसुन्ने, काम गर्न नसके बिदा बस् भन्ने जस्ता गैरजिम्मेवार जवाफ दिन्छन्।’ तल्ला तहका प्रहरीको न्यायका लागि आफू राजीनामा दिन बाध्य भएको उनको तर्क छ।  

पाण्डे भन्छन्- आरोप गलत 

नगर प्रहरी प्रमुख पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरूले विरोध गरेको आरोप लगाए। ‘छड्के चेकमा गएको समयमा फुटपाथको बिगबिगी देखेँ। राम्ररी काम गर्न निर्देशन दिएको थिएँ। चित्त नबुझेको कुरा सम्बन्धित निकायमा भन्नुपर्ने थियो। अहिले प्रोपगान्डा गरेका छन्‚’ पाण्डेको तर्क छ।  

आफूलाई चित्त नबुझेको कुरा राख्ने ठाउँ छ तर महानगर प्रहरी चौबिसै घण्टा खट्नु पर्छ। काम गर्न नसक्नेले विचार गर्नुपर्ने उनको भनाइ छ। ‘हरेक काममा आफैँ फिल्डमा गएर काम गरेको छु। प्रहरीको बदनाम गर्नेलाई छोड्ने छैन‚’ प्रहरीको आचारसंहिता पालना गर्नुपर्ने उनको तर्क छ‚ ‘मेरो त्यसमा भन्नु केही छैन।’ 

किन थपियो नगर प्रहरी? 

काठमाडौं महानगरमा हाल स्थायी नगर प्रहरी १ सय ७१ जना छन्। महानगरले १ सय ६२ जना अस्थायी नगर प्रहरी थप्न लागेको छ। नगर प्रहरीको संख्या थोरै भएकाले महानगरभित्र काम गर्न कठिन भएपछि महानगर प्रमुख बालेन साहले हाललाई अस्थायी रूपमा नगर प्रहरी थप गरेका हुन्। 

भूपु सेना तथा प्रहरीलाई निजी कम्पनीमार्फत नगर प्रहरीका रूपमा राखिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए। १ सय जना प्रहरी आइसकेका छन् भने ६२ जना आउन बाँकी रहेको महानगरपालिकाले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका भूतपूर्व सुरक्षाकर्मीलाई सेक्युरिटीका रूपमा पठाउन सेक्युरिटी कम्पनी र महानगरबीच सहमति भएको थियो।

सहमतिअनुसार पुरुषको हकमा ४० वर्ष नकटेको र महिलाको हकमा ४५ वर्ष नकटेको हुनुपर्नेछ। तर कम्पनीले १ सयजना मागअनुसार पठाए पनि अन्य तोकिएभन्दा फरक पठाउन खोजेपछि रोकेको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ। अस्थायी नगर प्रहरीलाई मासिक २० हजार ७ सय तलब, वार्षिक १३ हजार पोशाक भत्ता र रासन तथा आवास पाउने भएका छन्। 

एक महिनासम्म प्रहरीले पाएनन् पोशाक

काठमाडौं महानगरपालिकाले निजी सेक्युरिटी कम्पनी मार्फत १ सय ६२ जना नगर प्रहरी थपेको छ। तर थपिएका नगर प्रहरी कर्मचारीले करिब एक महिना पुग्न लाग्दासमेत पोशाक पाएका छैनन्। पोशाक नपाएका नगर प्रहरीहरू एक महिनादेखि ‘नगर प्रहरी’ लेखिएको पहेँलो ज्याकेटको भरमा फिल्डमा उत्रिएका छन्।  

महानगर प्रहरी प्रमुख पाण्डे भने करारमा नगर प्रहरी पठाउने कम्पनीलाई तुरुन्तै ड्रेसको व्यवस्था गर्न लगाएको बताउँछन्। महानगरले सम्झौता गरेको सेक्युरिटी कम्पनीले कर्मचारी र ड्रेस दुवै पठाउन बाँकी रहेको उनले बताए। महानगरपालिकाले ८ भदौमा टेन्डर आह्वान गरेर युनिक सेक्युरिटीमार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको थियो। निजी सेक्युरिटी कम्पनीमार्फत पूर्वसैनिक, पूर्वप्रहरी र प्रहरीका तालिम लिएकालाई छनोट गर्ने गरी टेण्डरसमेत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.