|

बैतडी : बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर बिष्टको मृत्युको अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। मृत अवस्थामा फेला परेका विष्टको हत्या हो वा अन्य कुनै कारणले मृत्युु भएको हो भन्ने खुलेको छैन।

​घटनाको अनुसन्धान गर्न शिक्षक, विद्यार्थी र केही स्थानीयलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएकाहरूको परिचय प्रहरीले खुलाएको छैन।

सुर्नया गाउँपालिका-२ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक बिष्ट गएको शनिबार दिउँसो विद्यालयको छात्रावासनजिकै मृत अवस्थामा फेला परेका थिए। उनको हत्या भएको परिवारजनले आशंका गरेर अहिलेसम्म शव बुझ्न मानेको छैन। शवको पोष्टमार्टम भने गरिसकिएको छ।

यसैबीच  घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पनि पाटन पुगेको छ। प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको बैतडीका निमित्त प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

सिआइबीको टोलीले बैतडी प्रहरीसँग मिलेर घटनाको संयुक्त रुपमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ। गत शुक्रबार कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरिक भएका शिक्षक बिष्ट भोलिपल्ट  शनिबार छात्रावासपछाडि मृत अवस्थामा फेला परेका थिए।

यता शिक्षक बिष्टको हत्या भएको भन्दै दोषीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै आफन्त, शिक्षक विद्यार्थीले जिल्लामा आन्दोलनका कार्यक्रम शुरू गरेका छन्। सडकमै टायर बालेर मंगलबार दशरथचन्द राजमार्गका विभिन्न ठाउँ अवरुद्ध पारेका थिए। प्रहरीले आन्दोलन स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.