|

काठमाडौं : औषधि उत्पादक कम्पनीले नै लागूऔषधको अवैध कारोबार गरेको प्रहरीले पत्ता लगाएको छ। तीन महिनादेखि प्रहरीले गरेको 'अपरेसन स्युडो' बाट संघाई ग्रुपले बाराको जीतपुरमा सञ्चालन गरेको आर्या फर्मास्युटिकल्सले औषधि उत्पादनको आवरणमा लागूऔषध तस्करी गर्ने गरेको पत्ता लगाएको हो। प्रहरीले संघाई ग्रुपका पवन संघाईलाई पक्राउ गर्न नसकेपनि उनको लागि काम गर्दै आएका पाँच जनालाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

सामान्य रुघाखोकी लाग्दा प्रयोग हुने गरिने डिकोल्ड, साइनेक्स जस्ता औषधि बनाउन आवश्यक सिउडोइफेड्रिन सहित प्रहरीले काठमाडौं इन्द्रचोकका रतनलाल संघाई, वीरगन्जका मोहित हलन, कमलपोखरी बस्ने दीलिप पण्डित र सिनामंगलका बद्री वन र काँकडभिट्टाका श्याम तामाङ मोक्तानलाई पक्राउ गरेको हो। उनीहरुबाट प्रहरी सिउडोइफेड्रिनको २९ लाख वटा चक्की बरामद गरेको छ। एम्फेटामाइन नामको लागूऔषध बनाउन सिउडोइफेड्रिन प्रयोग हुने गरेको छ, जुन नेपालको बाटो हुँदै भारत, चीन र बर्मा जाने गरेको छ।

भारत लैजानको लागि पूर्वी नाका काकडभिट्टातर्फ लगिएको अवस्थामा प्रहरीले चक्कीहरु बरामद गरेको थियो। प्रहरीले मोहित हलानबाट २० किलो एक सय २५ ग्राम सिउडोइफेड्रिन बरामद गरेको थियो। आर्या फर्माका व्यवसायिक साझेदार शंकर हलानका छोरा मोहित मार्केटिङ डाइरेक्टरको रुपमा काम गर्दै आएका थिए।

प्रहरीले दीलिप पण्डितको सुचनाको आधारमा चार सय ७१ किलो ८८ ग्राम सिउडोइफेड्रिन बरामद गरेको थियो। बाहिर कम्पनीको नाम, औषधिको नाम, उत्पादन मिति, ब्याच नम्बर, एक्सायर हुने मिति केही पनि नलेखिएको सिउडोइफेड्रिनको डब्बाहरु प्रहरीले पाटनस्थित संघाई प्लाष्टिक ईण्डष्ट्रिको गोदामबाट बरामद गरेको थियो।

वन र तामाङ भने काँकडभिट्टाबाट भारततर्फ औषधिहरु लैजान सक्रिय रहेको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए। उनले औषधिको आडमा नेपालबाट लागूऔषध बनाउने कच्चा पदार्थ सिउडोइफेड्रिन नेपालबाहेकका धेरै देशहरुमा प्रतिबन्धित रहेको पनि बताए।

को हुन् पवन संघाई?

प्रहरी करिब दुई महिनअघि आइस ड्रक्सका कारोबारीलाई पक्राउ गरेपछि प्रहरीले संघाई ग्रुप पनि औषधिको नाममा लागूऔषधको व्यापारमा संलग्न रहेको तथ्य पत्ता लगाएको थियो। पेट्रोल र औषधि व्यवसायीको रुपमा चिनिएका पवन संघाई अहिले फरार रहेका छन्।

पूर्व सभासद श्यामसुन्दर गुप्ताको योजनामा २०६८ पुस २७ गते कमलादीबाट अपहरणमा परेपछि पवन संघाईको चर्चामा आएको थिए। गुप्ता आपूर्तिमन्त्री हुँदा संघाईलाई दुई वटा पेट्रोल पम्पको स्वीकृति दिएका थिए। पम्पको स्वीकृति दिएपनि संघाईले गुप्तालाई रकम नदिएको भन्दै अपहरण गरेका थिए। गुप्ताले ८५ लाख रुपैयाँ फिरौती लिएका थिए। गुप्ताकै योजनामा संघाईको अपहरण भएको खुलेपछि प्रहरीले गुप्तालाई छोराको विहे भइरहेको समयमा भैरहवाबाट पक्राउ गरेको थियो। गुप्ता अहिले सजाय भुक्तान गरेर छुटिसकेका छन्।

कसरी आउँछ सिउडोइफेड्रिन?

सिउडोइफेड्रिन नेपालमा स्वीटजरल्याण्डबाट आयात हुने गरेको छ। गृह मन्त्रालयको स्वीकृति बेगर सिउडोइफेड्रिन नेपाल ल्याउन पाइँदैन। फर्मास्युटिकल्स कम्पनीहरुले सरकारको स्वीकृतिमा मात्र यो रसायन नेपाल आयात गर्छन्। आर्या फर्मास्युटिकल्सले अत्याधिक मात्रामा यो रसायन ल्याएपछि प्रहरीले निगरानी गरेको थियो। मन्त्रालयले एक पटकमा तीन सय किलो ल्याउने अनुमति दिने गरेको छ। त्यो सकिएर फेरि माग भएपछि अनुमति दिने गरेको औषधि व्यवस्था विभागका फर्मासिस्ट गोरख जिसीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.