|

बागलुङ : चार वर्षअघि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरूको दैनिकी अहिले पूरै फेरिएको छ।

उनीहरूको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ। काठेखोला गापा–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरवास (होम स्टे) सञ्चालन गरे।

घरवास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नुका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको हो। शुरुमा घरवास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरूमा निकै परिवर्तन आयो। नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरूले नेतृत्व विकास गरेर घरवासमा आउने पाहुनाको व्यवस्थापन उनीहरू आफैँ गर्छन्। खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत उनीहरूले नै गर्दै आएका छन्।

घरवास सञ्चालक माया पुन घर्ती भन्छिन्, 'होम स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ

पहिले चुलोचौकोमै सीमित हुने हामी समाजमा कुरा राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, शुरु शुरुमा त गाह्रो भयो। पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुशी लाग्छ। अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुशी बनाउने प्रयास गरेका छौँ।'

उनले घरवासलाई व्यावसायिक रूपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताइन्। घरवास आफूहरूको आयस्रोतको माध्यम बन्नुका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उनको भनाइ छ। पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकासका लागि पनि आफूहरू जुटिरहेको घर्ती बताउँछिन्।

'होम स्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ। पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ। विस्तारै व्यावसायिक बन्दै पनि छौँ', घर्तीले भनिन्,'होम स्टेले गाउँलेलाई एकताबद्ध बनाउनुका साथै सामाजिक कार्यमा समेत लाग्न प्रेरित गरेको छ।'

स्थानीय पुष्पा छन्त्यालले घरवासले महिलाहरूको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताइन्। उनले गाउँ घरवास सञ्चालन गर्नुअघि आफूहरूले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गरिन्। घरवास महिलाहरूका लागि आयआर्जनको स्रोतसमेत बनिरहेको उनको भनाइ छ।

उनी भन्छिन्, 'पहिले हाम्रो दैनिकी घाँसदाउरा र मेलापात गर्दैमा बित्थ्यो, अहिले मेलापातमा मात्रै सीमित छैनौँ। घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कला संस्कृति देखाउने गरेर बित्ने गरेको छ। यसबाट आम्दानी पनि राम्रो भएको छ।'

छन्त्यालले घरवास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटक भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा पनि परिवर्तन भएको बताइन्। उनले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरूलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीत‚ संगीत र नाचले मनोरञ्जन दिनका लागि आफूहरू निरन्तर लागिपरेको बताइन्। छन्त्यालले आफूहरू अनुभव बटुल्दै, सिक्दै र व्यावसायिक बन्ने क्रममा रहेको बताउँछिन्।

'हाम्रा लागि होम स्टे सञ्चालन गर्नु बिल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो। हामीले गर्नुपर्ने र सिक्नुपर्ने काम धेरै छन् तैपनि हामी जानेबुझेको हिसाबले काम गरेका छौँ। केही कमीकमजोरी पाहुनाले पनि औँल्याइदिनुहुन्छ। उहाँहरूको सुझावलाई पनि हामीले सहज रूपमा ग्रहण गरेका छौँ र सुधार गरिरहेका छौँ', छन्त्यालले भनिन्, 'पाहुनाहरूले हामीबाट केही नयाँ कुरा सिक्नु हुन्छ भने हामीले पनि उहाँहरूबाट नयाँ कुरा सिकिरहेका छौँ। यसले गर्दा यहाँका दिदीबहिनी र समुदायको पनि धेरै परिवर्तन हुँदै गएको छ।'

गाउँलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षअघि ‘बेलढुंगा सामुदायिक होम स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताए। पर्यटकीय क्षेत्र बेलढुंगाको काखमा रहेको धम्जा ओखले गाउँ पनि सम्भावना बोकेको ठाउँ हुँदा आफूहरू सक्रिय रूपमा लागेको श्रीसले बताए। घरवास सञ्चालनपछि यहाँका महिलाहरू व्यावसायिक बनेको र नेतृत्व विकाससमेत गरेको उनको भनाइ छ।

'यो होम स्टे २०७५ सालमा स्थापना गरेका हौँ, हाम्रो खास उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीको नेतृत्व विकास गरी व्यावसायिक बनाउने थियो। त्यसैअनुसार अहिले लागिरहेका छौँ, यो चार वर्षको अवधिमा दिदीबहिनीमा निकै परिवर्तन आएको छ। होम स्टे पनि राम्रै चलेको छ', अध्यक्ष श्रीसले भने, 'पहिले उहाँहरू राम्रोसँग बोल्न सक्नु हुन्नथ्यो, नेतृत्व विकास भएको थिएन, अहिले निकै ‘फरवार्ड’ हुनु भएको छ।'

गाउँका १२ वटा घरमा घरवास सञ्चालनमा रहेको उनको भनाइ छ। होम स्टे सञ्चालनका लागि हालसम्म १८ लाख अनुदान प्राप्त भएको अध्यक्ष श्रीसले बताए। गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरेको बताए। उनले गाउँसम्म आउने सडक कच्ची भएको हुँदा बर्खाभर घरवास ठप्प भएको गुनासो पोखे।

'पाहुनाहरूको आगमन राम्रो छ, बर्खामा अलिकति समस्या भयो, गाउँ आउने बाटो कच्ची हुँदा वर्षाभर गाडी चल्दैनन्। त्यसले गर्दा पाहुना भित्र्याउन सकिएन। यो वर्षामा दुईजना विदेशी पर्यटकलाई १० दिन राखियो। अरू बाटोका कारण आउन सक्नु भएन', उनले भने, 'बाटो राम्रो भए बाह्रै महिना यहाँ पाहुना आउन सक्नुहुन्थ्यो।'

उनले घरवासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा स्थानीय कुखुरा, खसीबोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताए। होम स्टे सञ्चालकहरूले पाहुनालाई मनोरञ्जन दिनका लागि मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाइ छ।

होम स्टे नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुंगा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.