|

हेटौंडा : केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले-माओवादी नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरूको समीकरण फेरिएको छ। संघमा नेकपा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धन भएसँगै बागमतीमा पनि दलहरूको समीकरण परिवर्तन भएको हो।

पाँचदलीय गठबन्धन भत्किएसँगै गत मंसिर ४ को निर्वाचनमा बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रदेशसभाको दोस्रो कार्यकालमा पनि प्रतिपक्षमा बस्ने भएको छ। प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकालमा प्रतिपक्षीको भूमिका निभाएको कांग्रेस दोस्रो कार्यकालमा सबैभन्दा ठूलो दल बने पनि अन्ततः प्रमुख प्रतिपक्षीमा सीमित बन्ने भएको हो।

सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुट्दा माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई बागमतीसहित सातवटै प्रदेशमा समेत सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको छ।

पहिलाको गठबन्धन यथावत रहेको स्थितिमा बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने सम्भावना प्रबल थियो तर केन्द्रमा पूरा गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेसको सपना चकनाचुर भएको छ।

गठबन्धनबाट कांग्रेस बाहिरिएसँगै ११० सदस्यीय बागमती प्रदेशमा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ। यो प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ।

यहाँ एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ सांसद छन्। यी ३ दलको मत जोड्दा बागमती प्रदेशमा नयाँ गठबन्धनसँग ६१ मत पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त छ। गठबन्धन नै परिवर्तन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा ‘आउट’ भएका छन् भने एमालेको जेएन थपलिया ‘इन’ भएका छन्।

बागमती प्रदेशसभाको दोस्रो ठूलो दल नेकपा एमालेले हालसम्म संसदीय दलको नेता चयन गरेको छैन। संसदीय दलको नेता मुख्यमन्त्री बन्ने हुँदा एमाले बागमती प्रदेशमा अब बन्ने दलको नेता मुख्यमन्त्री बन्ने छन्।

एमालेमा संसदीय दलको नेताका आकांक्षी बढ्नसक्ने

केही बेरअघिसम्म प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउने मनस्थितिमा रहेको एमालेमा दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने तयारी थियो। एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य जेएन थपलिया संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन हुने सम्भावना थियो तर अब एमाले सरकारमा सहभागी हुने भएपछि एमाले बागमती प्रदेशको दलको नेता बन्ने आकांक्षी पनि बढेको एमाले सांसदहरू बताउँछन्।

‘नेपालको राजनीतिले कति वेला युटर्न लिन्छ थाहा हुँदैन। केही बेरअघिसम्म हामी प्रतिपक्षीको मनस्थितिमा थियौँ। अहिले सत्तापक्ष बनेका छौ, प्रदेश सरकारको नेतृत्वमा एमालेको पनि दाबी रहन्छ। संसदीय दलको नेता मुख्यमन्त्री बन्ने हुँदा दलको नेतामा आकांक्षी बढ्न सक्नुहुन्छ’, एमालेका एक सांसदले भने।

ती सांसदले अरु आकांक्षी पनि हुनसक्ने बताएको भए पनि एमालेमा मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा थपलिया नै देखिन्छन्। बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारसमेत रहीसकेका थपलिया एमाले अध्यक्ष केपी ओलीका प्रियपात्रसमेत हुन्।

थपलिया मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभा सदस्यको निर्वाचन लडेकोसमेत चर्चा छ। आइतबार दिउँसो थाहाखबरसँग कुरा गर्दै उनले भनेका थिए‚ ‘दलको नेतामा साथीहरूले मलाई नै भनिरहनु भएको छ। अब बैठकमा अरुले पनि आफ्नो आकांक्षा राख्नुहोला नि!’

माओवादीमा दुईजना

प्रदेशसभाको तेस्रो दल रहेको नेकपा माओवादी केन्द्रमा भने दुईजना आकांक्षी छन्।

माओवादी केन्द्रमा पनि संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न दुईजना दाबेदार देखिएका छन्। माओवादीको बागमती प्रदेश संसदीय दलको नेता हुन शालिकराम जमकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनावसमेत हुन सक्ने सांसदहरूले बताएका छन्। यसअघि दलको नेता जमकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरेका छन्। पौडेल माओवादीको बागमती प्रदेश अध्यक्षसमेत रहेकाले उनी आफू दलको नेता बन्दै मुख्यमन्त्री बन्नुपर्ने बताउँछन्।

प्रदेशसभाको पहिलो कार्यकालमा दलको नेता, सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका जमकट्टेल दोस्रो कार्यकालमा आफूले मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबी गरिरहेका छन्।

प्रदेश सरकारलाई राप्रपाको समर्थन‚ सहभागी नहुने

१३ सदस्यसहित प्रदेशसभाको चौथो दल रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा पहिलोपटक सत्तापक्ष बनेको छ। यसअघि पहिलो कार्यकालमा दुईजना समानुपातिक सांसद रहेको राप्रपा पाँच वर्ष प्रतिपक्षी दलको रुपमा रहेको थियो।

तर प्रदेशसभाको दोस्रो कार्यकालमा दुई सिटलाई १३ सिटमा बदलेको राप्रपा माओवादी नेतृत्वको गठबन्धनबाट सत्तापक्ष बनेको छ। केन्द्रको सरकारमा सहभागी भए पनि प्रदेश सरकारमा भने राप्रपा सहभागी नहुने भएको छ।

प्रदेश संरचना खारेजीको माग उठाउँदै आएको राप्रपा प्रदेशमा सरकार बनाउन माओवादी नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा भने सहभागी नहुने राप्रपा बागमती प्रदेश अध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य विक्रम थापा बताउँछन्।

योसँगे ७ वटा दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा ४ वटा दल प्रतिपक्षीको भूमिकामा रहने भएका छन्। ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी रहने भएको छ भने ७ सिट रहेको नेकपा एकीकृत समाजवादी, ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हाम्रो नेपाली पार्टी प्रतिपक्षी बन्ने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.