|

बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ।  

सार्वजनिक खेलतालिकाअनुसार छनोट प्रतियोगिता पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुने भएको हो।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  समूह ए मा कञ्चनपुर, बैतडी, डोटी र अछाम छन्। यस्तै समूह बीमा कैलाली, बझाङ र डडेलधुरा छन्।   

प्रतियोगिता अन्तर्गत पुस १८ गते पहिलो खेलमा कञ्चनपुर र बैतडी  भिड्दा दोस्रो खेलमा डोटी र अछामबीच भिडन्त हुनेछ।  पुस १९ गते बैतडी र अछाम  प्रतिस्पर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र डोटी भिड्नेछन्। 

पुस २० गते पहिलो खेलमा बैतडी र डोटी आमनेसामने हुँदा दोस्रोमा कैलाली र डडेल्धुराबीच खेल हुनेछ। पुस २१ गते कञ्चनपुर र अछाम भिड्दा अर्को खेलमा बझाङ  र डडेल्धुरा प्रतिस्पर्धा गर्ने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।  यसका साथै पुस २२ गते कैलाली र बझाङ आमनेसामने हुनेछन्। 

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने जनाइएको  छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ।  

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता  पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.