|

बागलुङ : जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरको गाउँ हो, निसेलढोर। यहाँका स्थानीयको वेशभूषा, रीतिरिवाज र जीवनशैली नितान्त फरक छ। 

नेपालकै एक मात्र शिकार आरक्ष पनि यहीँ पर्छ। पुशपालन, कृषि, पर्यटन र जडिबुटी उत्पादनका लागि अगाडि रहे पनि विकासमा भने निसेलढोर वर्षौँदेखि पछाडि परेको छ।

यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन्। केही समयअघि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुगेको छैन। यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन्। जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्र पुग्नै झण्डै एक दिन लाग्छ। गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएकाले यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडो याममा बेसी (निसीगाउँ) र गर्मी याममा लेक (निसेलढोर) गर्ने गर्थे। अहिले सिजन अनुसार बसाइँसराइ गर्न छोडेर स्थायीरूपमै स्थानीय यहाँ बस्छन्। यहाँ करिब ६० घर परिवार स्थायीरूपमा बसोबास गर्छन्। वर्षातमा करिब ४००  परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताए। उनका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन्।

उनले चिसो बढेपछि अधिकांश मंसिर पहिलो साता नै निसीगाउँमा झरिसकेको बताए। उनीहरू अब असार लागेपछि मात्रै ढोर उक्लिने छन्। हिउँदमा बेसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्परा जस्तै हो। उनीहरुले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा लेक बेसी गर्नु परेको हो। अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताए। 

‘अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्नँ। चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बोलेको हेर्ने ठूलो धोको छ’, विकले भने। उनले निसेलढोरमा विद्युत् पुर्‍याउन सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ नभऐको गुनासो पोखे। ‘बेसी झर्दा सरकारलाई धेरै पटक भन्यौँ, निसेलढोरमा बिजुली चाहियो भनेर, तर सुनेन’, उनले भने, ‘हाम्रो समस्या नसुन्दा दुःख लाग्छ।’

स्थानीय मनिराम घर्ती मगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै बिजुली नहुँदा बास नबसी फर्किने गरेको बताउँछन्। उनले यो ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युतको पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर चाँडै फेरिने बताए।

‘निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो। विद्युत् नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन्। पर्यटक आए पनि एक रात नबसी फर्किन्छन्’, उनी भन्छन्, ‘विद्युत भएको भए उनीहरूलाई एकदुई दिन यहाँ राख्न सकिन्थ्यो। त्यसबाट स्थानीयले केही आम्दानी गर्न सक्थे।’

उनले केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज भएको बताए। विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोखे। ‘यहाँका स्थानीयको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत् हो, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगंगा जानु पर्छ, कि निसीगाउँमै पुग्नु पर्छ’, उनले भने, ‘कोही बिरामी पर्‍यो भने त झन् बुर्तिबाङ पुर्‍याउनु पर्छ। यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पुरै लाग्छ। भनेको बेला गाडी पाइँदैन। हाम्रो दुःख कसैले बुझेनन्।’

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुल लगायतका आधा दर्जन बढी गाउँ पर्छन्। यी कुनै पनि गाउँमा विद्युतको पहुँच छैन। निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताए। उनले गाउँपालिकाले यहाँको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिए। 

यहाँ कक्षा ५ सम्म पढाइ हुने एक विद्यालय छ। विद्यालय भवन व्यवस्थित बनाउने र सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्नेगरी बजेट विनियोजन गरेको बताए। स्वास्थ्य इकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.