|

हेटौंडा : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग सल्लाहै नगरी गठबन्धन तोडेको बताएका छन्।

शुक्रवार बागमती प्रदेशसभाको नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले प्रचण्डले आफूहरूसँग सल्लाह नगरी पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएको बताएका हुन्।

उनले पुस १० गते १२ बजेसम्म माधव नेपालले चुनावका वेला जनतासँग गरेको वाचा पूरा गर्न गठबन्धनलाई कायम राख्नुपर्छ भनेर घनीभूत प्रयास गरे पनि कांग्रेसको घमण्डीपनाले गठबन्धन तोडिएको आरोप लगाए।

‘हामी आफ्नो पार्टीमा विद्रोह गरी एउटा उद्देश्य बोकेर त्यो गठबन्धनमा आएका थियौँ। हामीले आफू खरानी हुन तयार भएर पनि त्यो गठबन्धनलाई साथ दिएका हौँ तर आफूले बोलेको कुरा आफैँले छोटो समयमा खण्डन गर्दै हामीसँग सल्लाहै नगरी प्रचण्ड कमरेड हाम फालेर जानु भयो’, उनले भने। पाण्डेले एमालेसँग सहकार्य हुनसक्ने संकेत समेत गरे। 

नयाँ गठबन्धनमा तपाईंहरू जानुहुन्छ भन्ने प्रश्नमा उनले नीतिगत कुरामा सहमति भए मिल्नसक्ने बताएका हुन्। पाण्डेले नयाँ गठबन्धनमा सहभागी हुने नहुने विषयमा १६ गते बस्ने पार्टीको स्थायी कमिटी बैठकले निर्णय गर्ने समेत बताए।

उनले माधव नेपाललाई राष्ट्रपति बनाउने भन्ने विषयमा बाहिर हल्ला मात्रै आएको हुनसक्ने भन्दै आधिकारिक रूपमा जानकारी नआएको बताए।

पाण्डेले भने‚ ‘माधव नेपालले राष्ट्रपतिका लागि पार्टीमा विद्रोह गरेको होइन। एउटा राष्ट्रपति पदका लागि मात्रै मिल्ने भन्ने हुँदैन तर नीतिगत कुरामा पनि मिलेर जान्छौँ भन्नुभयो भने सहकार्य हुन सक्ला।’

पाण्डेले माधव नेपालले आफूलाई सक्रिय राजनीति गर्ने इच्छा रहेको भन्दै अहिल्यै राष्ट्रपति हुने आकांक्षा नरहेको बताएको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.