|

काठमाडौं :  चिकित्सकको साझा संगठन नेपाल चिकित्सक संघ (एनएएम) को २०७९–०८२ कार्यकालका लागि आगामी माघमा निर्वाचन हुँदैछ। उपत्यकाबाहिर ६ र ७ गते तथा उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन तय भएको छ। 

यसपटक पेशागत समावेशी समूहबाट डा.सन्तोष पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै लोकतान्त्रिक समूहले समावेशी समूहबाट डा.अनिलविक्रम कार्कीको उम्मेदवारी परेको छ।

डा.पौडेलले चिकित्सकहरूको हकहित एवं एकताको प्रवर्धन गर्दै देशको स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको विकासका निम्ति एक नेतृत्वदायी संगठनको रूपमा संघलाई स्थापित गर्ने अवधारणा सार्वजनिक गरेका छन। यस्तै लोकतान्त्रिक समूहले समावेशी समूहबाट डा.अनिलविक्रम कार्कीले पनि आफूले सबै चिकित्सकको साझा हित र उनीहरूको परिवारका लागि छुट्टै ‘डेडिकेटेड’ अस्पताल निर्माणका लागि पहल गर्ने योजना अघि सारेका छन्। ड्युटी आवर व्यवस्थित पार्ने, फोर्स लिभका लागि पहल गर्ने, चिकित्सा सेवा आयोग स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने लगायतमहत्वाकाक्षी योजना पनि उनले उल्लेख गरेका छन्।

चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रको थिङ्क ट्यांक्टमा रूपान्तण गर्ने योजना छ : डा सन्तोष पौडेल

डा.पौडेल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत युवा चिकित्सक हुन्। वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ रहेका पौडेल यसअघि पनि  स्वास्थ्य क्षेत्रको विकास तथा चिकित्सकको हकहितको विषयमा आवाज उठाउँदै आएका चिकित्सक हुन्। विशेषगरी जुनियर र रेजिडेन्ट चिकित्सकको हकहितमा उनले पटकपटक आवाज उठाएका छन।

यो पटक देशभरका सबै चिकित्सकको हकहितमा आवाज उठाउने र चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रको थिङ्क ट्यांक्टको रूपमा विकास गर्ने योजनासहित अध्यक्ष पदमा उठेको उनको भनाइ छ। उनले चिकित्सक संघले चिकित्सक र समग्र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न सक्ने भए पनि  यसलाई सीमित चिकित्सकको मात्रै क्लब जस्तो बनाएकाले देशभर रहेका चिकित्सकलाई समेट्ने योजना राखेर संघमा अध्यक्षको उम्मेदवारी दिएको बताए।

‘७२ बर्ष भन्दा लामो इतिहास बोकेको संघलाइ पछिल्ला वर्षहरूमा सीमित चिकित्सकको क्लब जस्तो बनाइएको छ’, उनले भने, ‘मेरो उद्देश्य भनेको सबै चिकित्सक अटाउने चिकित्सकको साझा हकहितमा काम गरेर देशको स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्ने हो।’

पौडेलको समूहमा उपाध्यक्षहरुमा मधेश प्रदेशबाट डा महेश महासेठ, बागमतीबाट डा सञ्जय ठाकुर, गण्डकीबाट डा. विकास गौचन र सुदूरपश्चिमबट डा.निरज अर्याल उठेका छन् । महासचिव पदमा डा. रक्षा श्रेष्ठको उम्मेदवारी परेको छ। सदस्यहरूमा डा.अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ, डा. स्मृति महत र डा. सुरेन्द्र यादव छन्।

स्वस्थ चिकित्सक, स्वस्थ नेपालसहितको अवधारणा  : डा अनिलविक्रम कार्की

संघको उपाध्यक्ष समेत रहेका डा अनिलविक्रम कार्कीले लोकतान्त्रिक समूहले समावेशी समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका छन्। चितवनस्थित बीपी कोइरला क्यान्सर अस्पतालका कार्यरत डा.कार्की नाक–कान–घाँटी क्यान्सर रोग विशेषज्ञ हुन्। लामो समय काठमाडौं बाहिर रहेर बिरामीको सेवा दिइरहेका कार्की देशभरका सम्पूर्ण चिकित्सकको साझा हकहितमा लड्दै आएका छन्।

देशमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सबैभन्दा पहिला चिकित्सकको सेवा–सुविधा तथा सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्। आफ्नो चुनावी एजेण्डामा चिकित्सकको तलबवृद्धिका लागि दबाब सिर्जना गर्ने, चिकित्सकलाई सबै बिमा सरकारले नै गरिदिने व्यवस्था ल्याउन पहल गर्ने विषय उल्लेख गरेका छन्। चिकित्सक र उनीहरूको परिवारका लागि छुट्टै डेडिकेटेड अस्पताल निर्माणका लागि पहल गर्ने, ड्युटी आवर व्यवस्थित तथा फोर्स लिभका लागि पहल गर्ने लगायतका विषय पनि उनले अघि सारेका छन्।

​‘स्वस्थ नेपाल हुनका लागि सबैभन्दा पहिला चिकित्सक नै मानसिक शारीरिक रूपमा स्वस्थ हुनुपर्छ। आर्थिकरूपमा सबल हुनुपर्छ’, pनी भन्छन्, ‘हाल तलब सुविधा तथा सुरक्षा ग्यारेन्टी नहुँदा धेरै चिकित्सक पलायन हुनुपर्ने अवस्था छ। आर्थिक हिसाबले सबल हुने उद्देश्यले धेरै समय काम गर्दा परिवारलाइ समय दिन नपाउँदा धेरै साथीको डिभोर्सको घटना बढेको छ। त्यसैले तलबवृद्धि तथा अन्य सुरक्षाका लागि पनि आवाज उठाउने मेरो प्रमुख एजेण्डा हो।’

कार्कीको समूहमा उपाध्यक्ष तथा मधेश प्रदेश संयोजकमा डा. निरजकुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजकमा डा. प्रशान्त भट्ट उम्मेदवार हुन्।

महासचिवमा डा.सञ्जीव तिवारी, सदस्यहरुमा डा.अमितरञ्जन मिश्र, डा.सिर्जना विष्ट, डा. किशोर खत्री, डा.मनोर दिन सैयद, डा. तेजसु सिंह मल्ल र डा. योविनकुमार यादव चुनावी मैदानमा छन्। यो समूहबाट निर्वाचनमा उम्मेदवारी दिएका सात जना निर्विरोध निर्वाचित भइसकेका छन्।

वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजकमा डा.विपेश आचार्य, उपाध्यक्ष तथा  लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा डा. केशरबहादुर ढकाल, कोषाध्यक्ष डा. प्रमोद जोशी, सहकोषाध्यक्ष डा. विक्रान्त ढकाल र सहसचिव डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.