|

भालुबाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशले राजधानी कार्यान्वयन निकै उपयुक्त ढंगले प्रयोग गरेको बताए।

आइतबार प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा सहभागी हुन आएका पोखरेलले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अन्य प्रदेशमा केन्द्रले तोकेकै ठाउँमा प्रदेशको केन्द्र कायम गरे पनि लुम्बिनीले नयाँ ठाउँमा प्रदेश राजधानी बनाएको बताए।

उनले भने, ‘लुम्बिनी प्रदेशले आमजनतासँग छलफल, परामर्श गरेर प्रदेशसभाको भावनाका आधारमा नयाँ ठाउँमा प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो। आज त्यही ठाउँमा प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्नुभयो। आज लुम्बिनीवासीका लागि खुशीको दिन हो।’

यस्तै प्रदेशका संस्थापक मुख्यमन्त्री रहेका पोखरेलले प्रदेशको स्थायी राजधानी व्यवस्थित र सुन्दर बनाउने परिकल्पनामा यो प्रदेशसभा कोशेढुङ्गा सावित हुने उल्लेख गरे। ‘यो प्रदेशसभा आफैँमा महत्त्वपूर्ण चिज होइन’, उनले भने, ‘यसले के काम गर्छ भन्ने कुरा मुख्य कुरा हो। हामीले नमुना राजधानी बनाउन सकेपछि मात्र प्रदेशसभा यहाँ रहनुको अर्थ हुन्छ। त्यो दिशातर्फ नवनिर्वाचित सांसद र अब बन्ने सरकारले कार्यभार पूरा गर्नेमा म विश्वास गर्छु।’

उनले संविधानबाट पाएको अधिकारअनुसार केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरी त्यसको अभ्यास गर्नु चुनौतीपूर्ण भए पनि आधारभूत रूपमा पहिलो कार्यकालमा अगाडि बढेको उल्लेख गरे। अहिले प्रदेशको औचित्यमाथि प्रश्न खडा भएको भन्दै त्यसलाई जनभावना अनुसार प्रदेशलाई स्थापित गर्ने कुरा दोस्रो कार्यकालको महत्त्वपूर्ण अभिभारा भएको पनि उनको भनाइ थियो।

उनले भने, ‘अब अधिकारका लागि प्रश्नहरूमा तानातान गर्ने विषय लगभग टुङ्गिएका छन्। केही कुरा बाँकी होलान् तर ती कुरा पनि हल हुन्छन्। अब आफूले प्राप्त गरेका अधिकारका आधारमा आफ्नो औचित्य स्थापित गर्न दोस्रो कार्यकालको महत्त्वपूर्ण पक्ष हुन्छ।’

यस्तै उनले आफू प्रदेशको मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशले तयार गरेका आधार पूरा नभएको गुनासो गरे। त्यो आधारलाई कायम गर्न अब आउने नेतृत्वले सोच्न जरुरी रहेको पनि बताए। उनले प्रदेश सरकार पुँजीगत खर्च गर्ने मामिलामा उदाहरणीय बन्नुपर्ने पनि सुझाव दिए। उनले भने, ‘बेरुजुलाई न्यूनतम सीमामा राख्न सक्नु पर्‍यो। सुशासन कायम गर्न सक्नु पर्‍यो। जनअपेक्षाअनुसार विकास निर्माणमा भूमिका खेल्न सक्नुपर्छ।’

यस्तै उनले स्थानीय तहले प्रदेश सरकार आफ्नो अभिभावक भएको भन्ने कुरामा ध्यान दिनुपर्ने बताए। उनले स्थानीय तहलाई संघको संयोजनलाई प्रभावकारी बनाई प्रदेश आफ्नो अभिभावक हो भन्ने खालको अनुभूति गराउने कुरा प्रदेशको जिम्मेवारी भएको पनि प्रष्ट पारे।

तपाईँलाई किन यो ठाउँले स्थापित नगराएको भन्ने प्रश्नमा उनले यो विषय आफूलाई सोध्ने विषय नभई जनतालाई सोध्न आग्रह गरे। उनले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोट नपुगेर आफूले हारेको पनि स्वीकार गरे।

उनले भने, ‘म चाहिँ भोट पुगेन भन्छु। जति मतदाताले साथ दिनुभयो‚ त्यतिले पुगेन। त्यस अर्थमा साथ दिएकालाई धन्यवाद छ। मत नदिनु भएकाहरूको चाहिँ भविष्यमा विश्वास जित्ने कोसिस गर्नेछु।’

यस्तै उनले प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताए। उनले एमाले ठूलो पार्टी भएको हुँदा अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेको बताए। उनले अझै छलफल गर्न बाँकी रहेको भन्दै छलफलपछि एउटा निष्कर्ष निक्लिने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.