समयमा उपचार नगरे निम्तिन्छ जटिल समस्या

|

काठमाडौं: चिसो मौसममा स्वास्थ्यमा ध्यान दिन सकिएन भने विभिन्न खालका समस्याले सताउँछ। अझ बालबालिकाहरूलाई जोगाउन धेरै कठिन हुन्छ। चिसोका कारण यो मौसममा बालबालिकालाई निमोनिया तथा कोल्ड डायरियाले सताउँछ।  पाँच वर्षभन्दा कम उमेरका बालबालिका यो समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।

यो मौसममा मुख्यगरी रोटा भाइरस संक्रमणले गर्दा बालबालिकामा झाडापखला देखिने गरेको छ। जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३३ प्रतिशतभन्दा बढी संक्रमणको कारण रोटा भाइरस रहेको चिकित्सक बताउँछन्। यसले गर्दा जाडो मौसम मा बालबालिकाहरूलाई लाग्ने पखालाको प्रमुख कारण नै रोटा भाइरसलाई मानिन्छ।

चिसो मौससमा भाइरस निकै सक्रिय हुने हुँदा बालबालिकालाई सजिलै आक्रमण गर्ने र त्यसले पखाला चलाउने कान्ति बाल अस्पतालका आईसीयू तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रकाश जोशी बताउँछन्। ‘बालबालिकालाई आक्रमण गर्ने रोटा भाइरस चिसो मौसममा धेरै सक्रिय हुन्छ’, उनले भने, ‘अभिभावकले सरसफाइमा ध्यान नदिँदा तथा अन्य कारणले गर्दा यो भाइरसले आक्रमण गर्छ र झाडापखाला देखिन्छ।’

डा. जोशीका अनुसार चिसो मौसममा कान्ति अस्पतालमा हरेक वर्ष दैनिक ५ जनासम्म बालबालिका रोटा भाइरस संक्रमणको कारण झाडापखला भई अस्पतालमा आउने गरेका छन्। ‘यो सिजनमा दैनिक पाँच जनासम्म रोटा भाइरसबाट संक्रमित भई झाडापखाला लागेर बालबालिका हाम्रोमा आउँछन्’, उनले भने,‘केहीलाई त आईसीयूमा नै राखेर उपचार गर्नु पर्छ। तर यो वर्ष गत वर्षको भन्दा अलि कम बालबालिका आएको देखिन्छ।’ 

पहिलो पटक रोटा भाइरसको संक्रमणबाट कोल्ड डायरिया भएका बालबालिकामा कडा खालको लक्षण देखिने भएकाले अभिभावक सतर्क रहनुपर्ने बताउँछन्, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोगविशेषज्ञ डा. शेरबहादुर पुन।

झाडापखलाको कारणबाट बालबालिकाको मृत्यु हुने मध्ये सबैभन्दा धेरै रोटा भाइरसको कारण हुने पखलाका बालबालिकाहरुनै रहेको समेत उनले बताए। ‘ यदी पहिलो पटक रोटा भाइरसको संक्रमणबाट बालबालिकामा डायरीया भएको छ भने कडा खालको लक्षण देखाउछ यस्तो बेलामा अभिभावक सतर्क रहनु पर्छ नत्र बालबालिकाको स्वास्थ्यमा थप जटिलता देखा पर्छ’डा पुनले भने।

उनका अनुसार पछिल्लो समय पाँच वर्षमुनिका बालबालिकाहरुलाइ पढाइने मन्टेश्वरीको सरसरफाइमा ध्यान नदिदा बालबालिका  सामूहिक रूपमा रोटा भाइरसको संक्रमणमा पर्छन्।

बालबालिकामा ‘ए’ समूहको रोटा भाइरसले बालबालिकामा आक्रमण गर्ने गरेको समेत पुनले बताए। ‘रोटा भाइरसको संक्रमण युवामा पनि हुन्छ युवा उमेर समूहमा ‘बी’समूहकोको रोटा भाइरसले संक्रमण गराउँछ भने बालबालिकालाई ‘ए’समूहकोले’, उनी भन्छन्, ‘तर ‘बी’समूहको भन्दा ‘ए’ समूहको भाइरस कडा खालको हुन्छ।

सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा गरिएको सर्वेक्षणको अनुसार पखालाका कारण अस्पतालमा भर्ना भएका मध्य ३८५ बालबालिकालाई रोटा भाइरसका कारण नै पखाला लागेको स्वास्थ्य तथ्यांकले देखाएको थियो।

बालबालिकाको मृत्युको मुख्य कारकमध्येको झाडापखाला गराउने मुख्य भाइरस 'रोटा भाइरस' भएकाले सरकारले ‘रोटा रिक्स’ खोप बालबालिकाले लगाउने नियमित राष्ट्रिय खोप कार्यक्रममा निःशुल्क समावेश गरेको छ।

के हो रोटा भाइरस?

रोटा भाइरस संक्रमणको कारण  बालबालिकालाई कोल्ड डायरिया हुन्छ। एक वर्षमुनिका बालबालिकामा यस भाइरसको संक्रमण धेरै हुने गरेको छ। फोहोरमा पाइने यो भाइरस विशेषगरी चिसो मौसममा सक्रिय हुन्छ। फोहोर तथा दिसामा सजिलै पाइने यो भाइरस अभिभावकले बालबालिकाको सरसफाइमा ध्यान कम दिने कारण हुन्छ। ‘बालबालिकालाई घरभित्र हावा कम खेल्ने ठाउँमा राख्दा विभिन्न माध्यमबाट यो भाइरसले आक्रमण गर्छ’, जोशीले भने।

५ वर्ष मुनिका बालबालिका धेरै समय अभिभावककै काखमा रहन्छन्। उनीहरूले  सरसफाइमा कम ध्यान दिँदा बालबालिकामा रोटा भाइरसले आक्रमण गर्छ।

यस्ता लक्षण देखिन्छ

भाइरसले बालबालिकालाइ छिटो संक्रमण गर्ने र समयमा पहिचान गरेर उपचार गरिएन भने जटिल अवस्था निम्ताउने हुँदा अभिभावक सतर्क रहनु पर्छ।

रोटा भाइरसले आक्रमण गरिसकेपछि बालबालिकाले दिनमा तीन/चार पटक पाँच दिनसम्म पातलो दिसा गर्ने, रुने, झिँजो मान्ने हुन्छ। डायरियासँगै  निरन्तर बान्ता हुने,  ज्वरो आउने, खानामा रुचि नगर्ने जस्ता लक्षण देखिन्छ। उनीहरू बेहोससमेत हुने सम्भावना हुन्छ। यस्ता  लक्षण देखिनासाथ बालबालिकालाई स्वास्थ्य संस्थामा लैजानुपर्ने डा. जोशी बताउँछन्।

जथाभावी औषधी खुवाउनु हुँदैन

अभिभावकले बालबालिकालाई आफूखुशी एन्टिबायोटिकको प्रयोग गर्ने गरेको पाएको डा.जोशी बताउँछन्। रोटा भाइरसको कारणले लाग्ने कोल्ड डायरियाको लागि मात्रै भनेर हालसम्म कुनै पनि औषधी नभएकाले आफूखुशी औषधी खुवाउन नहुने उनको भनाइ छ। ‘रोटा भाइरसको कारणले लाग्ने कोल्ड डायरियाको भनेर छुट्टै औषधी छैन’,उनी भन्छन्, ‘जीवनजल नै यसको औषधी हो। कोल्ड डायरियाले धेरै नै असर गरे चिकित्सकको निगरानीमा उपचार गर्नुपर्छ।’

यस्तै घरमा नै झोल पदार्थ  प्रशस्त मात्रामा खुवाउने, ६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ। ६ महिनामाथिको बच्चा भए जीवनजल, आमाको दूध, दालको रस, गेडागुडी, तरकारीको रस र ताजा फलफूलको जुस खुवाउनु पर्छ। त्यस्तै जाउलो र दही पनि खुवाउनु राम्रो हुन्छ। झोल पदार्थसँगै जिंक चक्कीको प्रयोग लाभदायक हुने डा. जोशीले बताए।

केरामा पोटासियमको मात्रा बढी हुन्छ। जसले गर्दा डायरिया रोक्न समेत सहयोग गर्दछ। फलफूल पनि पर्याप्त मात्रामा खुवाउनु पर्छ। बच्चालाई झोलिलो खानेकुरा पर्दछ तर फ्रुटीलगायतका जुस,ग्लुकोजजस्ता पेय पदार्थ खुवाउनु हुँदैन।

यसरी बचाउन सकिन्छ रोटा भाइरसको संक्रमणबाट बालबालिकालाई

बालबालिकालाई खानेकुरा खुवाउनुपूर्व अभिभावकले राम्रोसँग हात धुने।

फलफूल खुवाउनुभन्दा अघि केही समय तातोपानीमा डुबाउने वा तातोपानीले पखालेर खुवाउने।

बच्चा रहने घर, कोठा तथा खेल्‍ने ठाउँ सफा राख्‍ने।

बच्चा खेल्ने वा बस्ने, सुत्ने ठाउँ सधैं सफा राख्ने।

बच्चालाई समय–समयमा नुहाइदिने र सफा राख्ने।

बच्चाले लगाउने कपडा दैनिकरूपमा परिवर्तन गरिदिने।

उमालेको पानी मात्रै खान दिने।

रोटा भाइरसविरूद्ध खोप लगाउने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.