चर्चा मात्र अत्यधिक‚ काम नगन्य

|

काठमाडौं : सरकारले २०७५ सालमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कार्यविधि जारी गर्‍यो। त्यससँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापाले पाँचथरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरी औपचारिक रूपमा यसको शुरुवात गरे। 

परिचयपत्र वितरण गर्ने भनिएको लामो समयसम्म पनि काम अगाडि बढ्न सकेको छैन। यतिवेला राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या अत्यधिक छ।परिचयपत्र वितरण दुई चरणमा अगाडि बढेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारस्थित विभागबाट १ लाख १७ हजार परिचयपत्र वितरण भएको थियो भने दोस्रो चरणमा जम्माजम्मी ६ हजार परिचयपत्र वितरण भएको विभागको तथ्यांकले देखाएको छ। 

हालसम्म १ करोड २ लाख ९५ हजार जनाले परिचयपत्रका लागि आवेदन दिइसकेका छन्। जसमध्ये १ लाख २३ हजार परिचयपत्र वितरण भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। दोहोरो बायाेम्याट्रिकका कारण परिचयपत्र वितरण भएको ढकाल बताउँछन्। वितरण गर्ने हतार नभएकाले छाप्नमा चासाे नदेखाएकाे उनकाे तर्क छ। विभागमा २ वटा छाप्ने मेसिन छन्। 

कार्ड होइन, नम्बरै लिन सकस

सरकारले स्मार्ट कार्ड परिचयपत्र वितरण गर्ने चर्चा गर्‍यो। केही मात्रामा  वितरण पनि गर्‍यो तर यतिवेला देखिएको लाइन भने  स्मार्ट कार्ड लिनका लागि होइन। मात्र परिचयपत्र नम्बर पाउनका लागि घण्टौं लाइनको सास्ती भोग्नु परेको हो। सूचना अधिकारी ढकाल भन्छन्, ‘स्मार्ट कार्ड तत्काल वितरण गर्नसक्ने अवस्था छैन र त्यो आवश्यक पनि बनाएको छैन। परिचयपत्र नम्बर मात्र प्रचलनमा ल्याइएको छ।’ 

सरकारले गत वर्ष १ मंसिरदेखि विद्युतीय राहदानी वितरण शुरु गर्‍यो। राहदानीको आवेदन दिने वेलामा नै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्‍यो। जसका कारण परिचयपत्र बनाउन सास्ती बेहोर्नुपर्ने अवस्था सिर्जना भयो। परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा लाइनको सास्ती शुरु भयो। आधारातदेखि  नै सर्वसाधारण परिचयपत्र बनाउने लाइनमा बस्न थाले। राहदानी बनाउने सास्ती परिचयपत्रमा पनि थपिएको भन्दै गुनासो बढ्दै गयो। लाइन व्यवस्थापन गर्न सरकारले पटक पटक निर्देशन दियो तर सो समस्या समाधान हुन सकेको छैन। बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयले भिडलाई व्यवस्थापन गर्न भन्दै टाइम कार्डसमेत लागू गरेको छ।

दोहोरो बायाेम्याट्रिकको समस्या

राष्ट्रिय परिचयपत्र वितरण गर्दा पनि व्यक्तिको बायाेम्याट्रिक गर्नुपर्ने भएकाले तत्काल वितरण गर्नेसक्ने अवस्था नरहेको विभागको भनाइ छ। राष्ट्रिय परिचयपत्रको आवेदन दिएका सर्वसाधारणले सो कार्ड प्राप्त गर्न दोहोरो झन्झट बेहोर्नुपर्ने भएकोे छ। परिचयपत्रको आवेदन दिँदा नेपाली नागरिकता,औंठा छापलगायतका विवरण दिनुपर्ने हुन्छ। बायोम्याट्रिक पूरा गरेसँगै परिचयपत्र नम्बर उल्लेख गरेको एउटा पत्र थमाइन्छ। 

त्यसैगरी परिचयपत्र लिनका लागि पनि सोही प्रक्रिया पूरा गरेर मात्र कार्ड लिनुपर्ने हुन्छ। यसरी दोहोरो प्रक्रियाका कारण कार्ड वितरणमा ढिलाइ भएको विभागको भनाइ छ। विभागले हाल आवेदन लिने काम गरिरहेकाले सो काम सकेरमात्र वितरण शुरु गर्ने तयारी गरेको छ।  ढकालले भने, ‘आवेदन संकलन र वितरणका लागि एउटै प्रक्रिया र सोही बुथबाट गर्नुपर्ने भएकाले समय लाग्छ। सिम्बोलिक मात्र वितरण भएको हो।’  सफ्टवेयर निर्माण गर्दा नै यसरी नै बनाएकाले ती सम्पूर्ण चरण पूरा गर्नुपर्ने र तत्काल वितरण गर्ने तयारी नभएको विभागले जनाएको छ। कार्ड लिनका लागि नम्बर अनिवार्य गरिएको छ।

उस्तै प्रकारका सरकारी कार्ड- सास्ती थप्ने मेलो

एकजना नेपालीले जन्मदेखि मृत्युसम्म करिब १० वटा सरकारी परिचयपत्र बोक्नुपर्ने हुन्छ। जसमा नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, एकल महिला परिचयपत्र, गरिब परिचयपत्र, अपांगता परिचयपत्र, पत्रकार परिचयपत्र, सवारीचालक अनुमतिपत्र, प्यान कार्डलगायत परिचयपत्र लिनुपर्ने हुन्छ। तर यी सबै परिचयपत्र बनाउन पनि उस्तै सास्ती र झण्झट बेहोर्नु पर्छ। सरकारी निकायमा एकले अर्काेसँग समन्वय गर्न नसक्दा त्यसको समस्या नागरिकले झेल्नुपर्ने अवस्था देखिएको छ। 

राष्ट्रिय परिचयपत्र नै किन?

राष्ट्रिय परिचयपत्रलाई अन्तरराष्ट्रिय मापदण्डको डिजिटल कार्डको मान्यता दिइएको छ। राष्ट्रिय परिचयपत्रमा १० औँठा छाप अंकित व्यक्तिको पहिचान समेटिएको हुन्छ। चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा व्यक्तिको विवरण समेटिनेछ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट नहुने पञ्जीकरण विभागले जनाएको छ। 

परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ। कुनै पनि व्यक्तिको जन्मदेखिकै राष्ट्रिय परिचयपत्रलाई अनलाइन प्रणालीमा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

विभागका अनुसार एकजनालाई उपलब्ध गराएको राष्ट्रिय परिचयपत्र नम्बर कहिल्यै दोहोरिँदैन। परिचयपत्रको विवरण अनलाइनमा व्यवस्थित गरिएपछि बालबालिकाको जन्मदर्तामा दिइएको नम्बर नै उसको स्थायी परिचयपत्र नम्बर समावेश गरिएको हुन्छ। राष्ट्रिय परिचयपत्रको विवरण जो कोहीले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.