|

घोराही : दाङको घोराही उपमहानगरले डम्पिङ साइटलाई व्यवस्थित गरेको छ। डम्पिङ साइट व्यवस्थित बनाइएपछि घोराही बजार र उपमहानगरभित्रको बस्तीबाट फोहर सङ्कलन र व्यवस्थापन प्रभावकारी रूपमा हुन थालेको हो।

यसअघि जथाभावी फोहर थुपार्दा दुर्गन्ध भएको भन्दै उपमहानगरपालिकाको १६ नं वडा करौती डाँडाका स्थानीयले विरोध गरेका थिए। त्यही फोहर फालेको ठाउँ माटोले पुरेर बगैँचा बनाइएपछि अहिले सुन्दर ठाउँ बनेको छ। बगैँचामा विभिन्न किसिमका फूल रोपिएका छन्।

फोहरले दुर्गन्धित भएको भन्दै आन्दोलन गर्ने स्थानीय बासिन्दाले बगैँचा निर्माणको काम शुरु भएसँगै रोजगारी समेत पाएका छन्। रोजगारी पाएपछि स्थानीय बासिन्दा खुशी भएका छन्।

‘गाउँका करिब २३ जनाले त्यही बगैँचामा रोजगारी पाएका छन्। अन्य फोहर पनि रिसाइकलमा पठाउने काम भइरहेको छ, पहिलेको जस्तो दुर्गन्ध हुँदैन। अहिले हामी खुशी छौँ’, स्थानीय दिनेश नेपालीले बताए। फोहरमाथि पार्क बनाइएको छ। त्यसले पनि फोहरमाथि बगैँचा भन्ने राम्रो सन्देश पनि दिएको उनको भनाइ छ।

उपमहानगरले डम्पिङ साइटमा बगैँचा निर्माण गर्न दुई वर्षअघि ५ लाखको संरचना बनाएको थियो। एक वर्ष पहिलेदेखि पार्कको काम शुरु गरेको थियो। फोहर पुरेको ठाउँ पनि उराठ देखिने भएकाले त्यहाँ बगैँचा बनाएर विभिन्न किसिमका फूल रोपेपछि आकर्षित हुने र बाहिरबाट आउने व्यक्तिहरूलाई पनि फोहरमाथि पनि बगैँचा बनाउन सकिन्छ भन्ने सन्देश दिन डम्पिङ साइटमा बगैँचा बनाएको उपमहानगरका फोहर व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए।

उपमहानगरले २०६२ सालदेखि करौती डाँडामा डम्पिङ साइट बनाइएको हो। ६० बिघा क्षेत्रफलमा रहेको डम्पिङ साइट जंगलमै पर्ने भएकाले त्यहाँ धुपी सल्ला, आँप, अम्बा, अमलालगायत विभिन्न किसिमका फलफूल पनि पाइन्छन्। अहिले घोराहीमा दैनिक १५ देखि २० टनसम्म फोहर उठ्ने गरेको छ।

यसैगरी उपमहानगरले सोही ठाउँमा गल्ने फोहरबाट ग्यास उत्पादन समेत गरेको छ। उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मध्यनगर बानेश्वर काठमाडौँको सहयोग र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँको प्रवर्द्धनमा ग्यास उत्पादन थालिएको हो।

करिब २४ करोड रुपैयाँभन्दा बढीको लागतमा ग्यास प्लान्ट स्थापना भएको छ। यस्तै उपमहानगरले सर्वसाधारणबाट फोहर किन्ने गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.