|

काठमाडौं : कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा जान साना दलका नेताले दौडधुप थालेका छन्। 

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा महत्वपूर्ण मन्त्रालय लिएका एकसिटे दलका नेताहरुले सरकारमा जान दौडधुप थालेका हुन्। जसरी भए पनि सरकारमा जाने उद्देश्यले साना दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा निवास धाउन थालेको दुबैतर्फका स्रोतले जानकारी दिएका छन्। 

को को छन् लबिङमा?

ओली सरकारमा सहभागी भएका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाल परिवार दलका एकनाथ ढकाल, मधेस समता पार्टी नेपालका मेघराज नेपाली निषादले सरकारमा जान प्रचण्ड निवास लाजिम्पाट धाइरहेका छन्।

ओली सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले सरकारमा जाने या नजाने भन्ने विषयमा कुनै निर्णय नभएको बताए। ‘सरकार गठनमा लागेका दलहरुसँग अनौपचारिक कुराकानी भएको छ, सोमबारदेखि औपचारिक कुराकानी हुन्छ, सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा हाम्रो पार्टीले केही निर्णय गरेको छैन’, थाहाखबरसँगको टेलिफोन संवादमा उनले भने। 

ओली सरकारमा शान्ति मन्त्रीको जिम्मेवारी सम्हालेका परिवार दलका एकनाथ ढकालले भने प्रचण्डसँग कुराकानी भएको स्वीकार गरे। नयाँ सरकारमा सहभागी हुने या नहुने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको बताउँदै उनले माओवादी र कांग्रेससँगको छलफल जारी भएको बताए। ‘छलफल प्रचण्डसँग मात्रै होइन, माधव नेपालसँग पनि भएको छ’ उनले भने, ‘आवश्यक सल्लाह गरी सरकारबारे निर्णय गर्छौ ।’

प्रचण्ड निकट स्रोतका अनुसार ती दलका नेताहरुले जसरी पनि सरकारमा सहभागी गराउन लबिङ गरिरहेका छन्।

राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) ले भने सरकारमा सहभागी नहुने निर्णय गरेको छ। पार्टी अध्यक्ष शिवलाल थापाले राष्ट्रिय सहमतिको सरकार बने मात्रै आफूहरु सरकारमा सहभागी हुने बताए।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आफ्नै पार्टीका मन्त्री छान्न बाँकी रहेको बेला अन्य दललाई कसरी सहभागी गराउने भन्ने विषयमा पार्टीमा छलफल नभएको दावी गरिन्। ‘साना दलसँग छलफल जारी छ, आफ्नै पार्टीबाट मन्त्री नछानेसम्म अरुलाई कसरी ल्याउने भन्ने विषयमा केही सोचेका छैनौँ’ उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.