|

डडेल्धुरा : डडेल्धुरामा सम्बन्धविच्छेदका घटनामा बढ्दै गएका छन्। डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन्। जिम्मेवारी सरेर आएकासहित चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालतमा मुद्दाको संख्या ९२ रहेको छ।

यीमध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका २७ वटा छन्। २७ मध्ये १० वटा फर्छ्योट भएका र १७ वटा बाँकी रहेको न्यायाधीश बालकृष्ण वाग्लले जानकारी दिए। उनले सम्बन्धविच्छेदका घटना वृद्धि हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग, श्रीमानश्रीमतीबीचको असमझदारी, अनैतिक सम्बन्ध र महिला सचेत हुनु रहेको बताए।

‘नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको संख्य बढिरहेको छ,’ उनले भने, ‘श्रीमान् वा श्रीमती रोजगारीको सिलसिलामा विदेश जाने र फर्केर आएपछि सम्बन्धबिच्छेद गर्ने गरेको भेटिएको छ।’ उनले नयाँ मुलुकी संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्धविच्छेद गर्ने पुरुषका समेत निवेदन आइरहेका उनको भनाइ छ।

पुरुष र महिलाबीच सम्बन्धविच्छेदका लागि सहमति भए एक महिनाभित्र मुद्दा किनारा लाग्छ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा एक वर्षसम्म मुद्दा फैसला नहुने व्यवस्था गरेको छ।

जिल्ला अदालत डडेल्धुराको तथ्यांकअनुसार २०७९/८० को पछिल्लो ६ महिनामा जम्मा मुद्दाको संख्या ९२ छ, जसमा २७ मुद्दा फर्छ्योट भएको र ६५ बाँकी छन्। शुक्रबार अदालतले गरेको पत्रकारसँगको अन्तरक्रियामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण पनि मुद्दा फर्छ्योटको संख्यामा केही कमी आएको न्यायाधीश वाग्लले बताए। चालु आर्थिक वर्षको अहिलेसम्म चेक अनादरका १२ मुद्दा परेका छन्। जसमा २ फर्छ्योट हुँदा १० मुद्दा बाँकी नै रहेका छन्।

अदालतमा जबरजस्ती करणीका सात मुद्दा परेका छन्, जसमध्ये ६ फर्छ्योट भइसकेका छन् भने एक मुद्दा बाँकी छ। लेनदेनसम्बन्धी पनि सातवटा मुद्दा अदालतमा परेका छन्। जसमा १ मुद्दा मात्रै फर्छ्योट भएको छ। जिल्ला अदालतमा २३ प्रकारका मुद्दा दर्ता भएका छन्।

अदालतमा सवारीका ज्यानका ५, जबरजस्ती करणी उद्योगका ४, घरेलु हिंसा, बालयौन दुरुपयोग, हातहतियार खरखजाना र कर्तव्य ज्यानका ३/३ वटा मुद्दा परेका छन्। यस्तै ठगी, मोटरसाइकल चोरी, नाबालक जिम्मा लगाई पाऊँ, लिखित सम्झौता, दुष्कृति, इज्जत आमदअनुसार खान लाउन, हाडनाता करणी, बकसपत्र बदर, नकवजनी चोरी, आत्यहत्या दुरुत्साहन र लागूऔषधका एक/एक मुद्दा परेका छन्।

अदालतमा विशेष प्रकारका निवेदन पनि गर्ने गरेका छन्। मृत्युको न्यायिक घोषणका ९ वटा निवेदन परेका छन्, जसमध्ये ४ वटा फर्छ्योट भएका र ५ बाँकी रहेको अदालतका तहशिलदार पुष्पराज जोशीले जानकारी दिए। यसका साथै जिल्ला अदालतमा जरिवाना वापतको रकम पनि उठ्न बाँकी छ।

एक करोड २४ लाख ४६ हजार ८१५ रुयैयाँ लगत रहेकोमा १० हजार मात्रै फर्छ्योट भएको छ। एक करोड २४ लाख ३६ हजार ८१५ रुयैयाँ उठ्न बाँकी रहेको तहशिलदार जोशीले बताए। उनका अनुसार प्रतिवादी फरार रहेकाले ठूलो मात्रामा जरिवाना वापतको रकम उठ्न बाँकी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.