|

विराटनगर : अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका  हुन्।

एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।

कार्कीको राजनीतिक यात्रा
अनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका खेलेका कार्की २०५५ सालमा अध्यक्षको जिम्मेवारीमा रहेका थिए।

स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए।

२०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रूपनारायण श्रेष्ठ, बिन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिकामा थिए।

पार्टीको महाधिवेशनमा स्वयंसेवक पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा आबद्ध कार्की नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए।

२०७१ दखि २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जका रूपमा जिम्मेवारी वहन गरेका कार्की संविधान अनुकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रूपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.