धेरै बालबालिकाले खोप नलगाएकाले फैलियो संक्रमण

|

काठमाडौं: पुसको दोस्रो हप्तादेखि बाँकेको नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छन। उपमहानगरपालिकाको वडा नं ५ मा पुस १३ गते पहिलो बिरामी देखिएका थिए।

संक्रमण अहिले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा फैलिसकेको छ भने संक्रमित बालबालिकाको संख्या ९० भन्दा बढी पुगिसकेको छ।

हाल उपमहानगरपालिका, प्रदेश सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि दादुरा फैलिएको ठाउँमा नै पुगेर संक्रमण नियन्त्रणमा राख्न खोप कार्यक्रम लगायतका कार्यक्रम गरिरहेको भए पनि दादुरा संक्रमण अझै नियन्त्रणमा आउन नसकेको हो।

हाल संक्रमण फैलिरहेको क्षेत्रमा दादुराका बिरामी पत्ता लगाउन शिविर सञ्चालन गर्ने र घरदैलो अभियान जारी राखेको उपमहानगरपालिकाका प्रवक्ता  प्रमोद रिजाललले बताए।  बिरामी पत्ता लगाउने, तत्काल उपचार गर्ने, बिरामीलाई भिटामिन ‘ए’ दिने, आइसोलेनमा राख्ने गरेको उनले बताए। ‘ स्थानीय संघसंस्था समेत परिचालन गरेर संक्रमण नियन्त्रण राख्ने प्रयास जारी छ, हाल संक्रमित बालबालिकाको खोजी र तिनको उपचारलाई तीव्र पारेका छौँ’, उनले भने, ‘संक्रमण नदेखिएका बालबालिकामा खोप लगाउने कार्य पनि अघि बढाएका छौँ।’

संक्रमण नियन्त्रण गर्न दुई हप्तासम्म स्थानीय विद्यालय बन्द गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

खोप नै नलगाएका बालबालिका धेरै हुँदा समस्या भयो

दादुरा संक्रमण देखिएका धेरै बालबालिकाहरुले दादुराविरुद्धको खोप नै नलगाएको पाइएको हुँदा समस्या भएको बताउँछन्, लुम्बिनी प्रदेश,स्वास्थ्य मन्त्रालय सचिव डा. विकास देवकोटा। संक्रमित बालबालिका मध्ये २८ प्रतिशतले खोप नगाएको र लगाएकाले पनि पूर्ण मात्रामा नलगाएकाले समस्या भइरहेको डा. भएको देवकोटाले बताए।

‘संक्रमण देखिएकामध्ये धेरै बालबालिकाले दादुराविरुद्ध खोप नै नलगाएको पाइयो। यसले गर्दा दादुरा संक्रमण तीव्ररूपमा फैलिरहेको छ, तर हाल खोप अभियान तीव्र पारिएकाले अब छिटै नियन्त्रणमा आउँछ होला’, डा देवकोटाले भने। उनका अनुसार संक्रमणबाट ३१ महिनाको एक बालकको मृत्यु भए पनि अन्य संक्रमितलाई कडा खालको लक्षण देखिएको छैन।

‘स्थानीय तह, संघ सस्था र युनिसेफ,विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सबै संक्रमण फैलिन नदिन लागिपरेका छौँ’, उनले भने ‘विशेषगरी धेरै बालबालिकाले दादुराविरुद्ध खोप नलगाएकाले अहिले खोप कार्यक्रमलाई नै प्राथामिकतामा राखेका छौँ।’ 

खोप नलगाए उच्च जोखिम

खोप नै नलगाएको अवस्थामा  संक्रमणको जोखिम उच्च हुने बताउँछन्, सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन। डा. पुनका अनुसार दादुरा संक्रमण अति नै तीव्र रूपमा फैलिने भएकाले  दादुराको एक ‘केस’ लाई नै महामारी बनाउन सक्ने रूपमा लिइन्छ। ‘दादुरा गराउने मिजल्स भाइरस यति छिटो फैलिन्छ कि एक संक्रमितबाट १७/१८ जना सम्मलाई संक्रमण गराउँछ’, उनले भने, ‘त्यसैले दादुरा फैलिए नियन्त्रणमा लिन धेरै गाह्रो हुन्छ।’ 

डा. पुनका अनुसार नेपालमा नेपालका विभिन्न स्थानमा वेलावेलाम फाट्टफुट्टा दादुरा संक्रमण देखिए पनि नेपालगञ्जमा हाल फैलिए जसरी एकै समयमा धेरै बालबालिकामा संक्रमण देखिएको छैन। ‘ अहिले नेपालगञ्जमा दादुरा देखिएका धेरै बालबालिकालाई खोप नलाएको भन्ने कुरा आएको छ। यो निकै गम्भीर कुरा हो यसले संक्रमणलाई तीव्ररूपमा फैलाउन र कडा लक्षण भएका संक्रमित बढाउन सक्छ’, उनी भन्छन्, ‘दादुरा भाइरस एकदमै छिटो फैलिन्छ, जसले गर्दा नियन्त्रणमा लिन गाह्रो हुन्छ।’

पछिल्लो दुई वर्षमा नेपालमा कोभिड १९ महामारीका कारण बालबालिकाले लगाउदै आएका खोप कार्यक्रम प्रभावित भएर पनि हाल दादुरा संक्रमण देखिको हुनसक्ने डा. पुनको भनाइ छ। ‘बालबालिकामा देखिने दादुरा संक्रमण ज्यादै जोखिमपूर्ण मानिन्छ। अझ खोप नलगाएका वा पूर्ण खोप नलगाएकाहरूमा संक्रमण ज्यादै घातक हुनसक्छ’, उनले भने, ‘हाम्रोमा कोभिड महामारीमा धेरै बालबालिकाले लगाउने खोप कार्यक्रम प्रभावित भएका छन्। त्यसैको असर नेपालगञ्जमा देखिएको हुनसक्छ। त्यसैले अब खोप कार्यक्रम तीव्र पार्नुपर्छ। अन्य स्थानमा पनि शंकास्पद बिरामी देखिए वेलैमा परीक्षण गरी उपचार गर्नुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.