|

भालुबाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशसभा परिसर देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथ गराएका थिए। बुधबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

गिरी २०७४ चैत ५ गतेदेखि २०७८ वैशाख ६ गतेसम्म उद्योग वन, पर्यटन तथा वातावरणमन्त्री थिए।

६८ वर्षका लीला गिरी लुम्बिनी प्रदेशका तेस्रो मुख्यमन्त्री बनेका छन्। योसँगै प्रदेश प्रमुख शेरचनले नवनियुक्त दुईजना मन्त्रीलाई पनि शपथ ग्रहण गराएका थिए।

विनाविभागीय मन्त्रीको रूपमा अर्घाखाँची २(क) बाट निर्वाचित नेकपा एमालेका चेतनारायण आचार्य र बाँके १(क) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित कृष्णा केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि दुबैजनालाई विनाविभागीय मन्त्री बनाइएको हो।

माओवादी केन्द्रले अर्थ तथा सहकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय एवं पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयको दाबी गरेको छ। मुख्यमन्त्री एमालेको भएपछि महत्त्वपूर्ण मन्त्रालय पाउनुपर्ने माओवादीको दावी छ तर यसमा एमालेले सहमति जनाएको छैन।

प्रदेशसभामा सत्ता गठबन्धनका ७ दलका ५६ जना र स्वतन्त्र २ गरी ५८ जनाको समर्थन रहेको छ। जसमा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, राप्रपाका ४ जना,  नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३, लोसपाका ३, जनमतका ३ र २ स्वतन्त्र सांसद छन्।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७ जना, नेकपा एकीकृत समाजवादीका १ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन्।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १३ वटा मन्त्रालय रहेका छन्। जसमा अर्थ तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा भूमि मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेको छ।

को हुन् मुख्यमन्त्री गिरी ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी ६८ वर्षका हुन्। उनी २०११ साल चैत १४ गते गुल्मीको रुरु गाउँपालिका-५ सौरीबोटमा जन्मिएका थिए। उनी २०३४ सालमा गुल्मीबाट रूपन्देही बसाइ सरेका थिए। उनी स्नातक उत्तीर्ण छन्।

२०३१ देखि कम्युनिस्ट राजनीतिमा होमिएका उनी २०४६ सालमा नेकपा मालेको रूपन्देही जिल्ला कमिटी सदस्य भएका थिए। २०४७ सालमा नेकपा एमाले रूपन्देहीको जिल्ला कमिटी सदस्य भएका थिए। २०४७ मा शंकर नगर गाविसका अध्यक्ष निर्वाचित भए।

२०५६ सालमा जिल्ला कमिटी रूपन्देहीको उपसचिव बनेका उनी २०५८ देखि ६१ सम्म कार्यवाहक सचिव भएर काम गरे। विसं २०६१ देखि २०६६ सम्म एमाले रूपन्देही जिल्ला सचिव र २०६६ देखि २०६९ सम्म रूपन्देही जिल्ला अध्यक्ष भएका थिए। २०६१ माघ १९ गतेको शाही ‘कु’ विरुद्ध आन्दोलनको नेतृत्व गर्दै २०६१ माघ २७ देखि २०६२ वैशाख २८ गतेसम्म जेल परेका थिए।

२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख तथा विसं. २०६९ देखि २०७० सम्म अञ्चल कमिटी सदस्य भएका थिए। २०७१ सालमा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी २०७७ मा तत्कालीन नेकपाको केन्दीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष भएका थिए। २०७८ सालमा नेकपाको विभाजन भएपछि एमाले लुम्बिनी प्रदेशको अध्यक्ष भएका उनी एमालेको दशौँ महाधिवेशनबाट पोलिटब्यूरो सदस्य चयन भएका थिए। 

उनी २०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा रूपन्देही निर्वाचन क्षेत्र २ (१) निर्वाचित भएका थिए। उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा २०७४ चैत ५ गतेदेखि २०७८ वैशाख ६ गतेसम्म मन्त्री उद्योग वन, पर्यटन, वातावरण मन्त्री बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.