|

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्।

मुलुकको राजनीतिक स्थायित्वका लागि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने ज्ञवालीको तर्क थियो। शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार नगर्ने उनले स्पष्ट पारे। उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गरे। नभए निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उनले स्मरण गराए।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वका लागि राजनीतिक विचारधारा र उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीति अघि बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्‍याए।

उनले भने‚ ‘एकदमै छिटोछिटो प्रणालीमा पुनर्विचार वाञ्छनीय कुरा होइन होला। आफ्नो निधारमा धुलो लागेको छ। गाडीको ऐना पुछेको पुछ्यै गरेर समाधान खोज्ने कुरा पनि शायद व्यवहारिक होइन होला।’

राजनीतिक स्थायित्वका निम्ति टिकाउ खालको गठबन्धन आवश्यक भएको उनले दोहोर्‍याइरहे। उनले निर्वाचनपूर्व बनेका गठबन्धन चुनावको परिणाम आएलगत्तै भत्कनु सुखद नभएको उनको कथन छ।

उनले भने‚ ‘यस्तो स्थितिमा राजनीतिक स्थायित्वको खोजी कसरी गर्ने?  हाम्रा सामु यो ठूलो चुनौती छ जस्तो मलाई लाग्छ।’ संविधान परिवर्तन गरिहाल्ने, संविधानका कतिपय प्रावधान परिवर्तन गरिहाल्ने वेला भने नभएको उनको भनाइ छ।​

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र गठबन्धन टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.