|

काठमाडौं : राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको बताए।

उनले बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको बताए।

उनले भने, ‘सबैको सद्गति भइसकेपछि प्रमाणहरु लिएर सबैको बीमाको पाटोमा समस्या छैन। त्योदेखि बाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरु पीडामा हुनुहुन्छ, उहाँहरुलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरुले के सहयोग पुर्‍याउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो । विदेशी बडीहरु पनि कलेक्शन गर्नुपर्‍यो । ल्याएर त्यसको पोष्टमार्टम गर्नुपर्‍यो । त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुपर्‍यो । कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरु भयो।’

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता थियो।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। 

दुर्घटनामा ६८ यात्रु र चालक दलका ४ जनाको मृत्यु भएको थियो। ६९ जनाको शव फेला परे पनि बाँकी ३ जनाको शव खोज्ने कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.