|

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्रयाइँ गर्न नहुने बताएका छन्।

उपमहासचिव रिमालले हरेकपटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइए पनि समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरु भइरहेको बताएका हुन्।

उनले अब पनि विज्ञहरुले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरु विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निस्कर्षप्रति सरकार र सम्बन्धित निकायहरु कति इमानदार छन् भन्ने प्रश्न आम मानिसमा रहेको बताए। उनले सरकार र सम्बन्धित निकायहरुले विज्ञहरुले बुझाएको प्रतिवेदन अव्यावहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभई थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताए।

उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने बताए।

उनले भने, ‘अकल्पनीय घटना भएको छ। आन्तरिक विमान दुर्घटनामा यति ठूलो क्षति भएको पहिलोपटक हो। गन्तव्यमा पुगिसकेपछि दुर्घटना भएको देखिएको छ। यसका दुई वटा कुरा हुन्छन्, एउटा मानवीय, प्रविधिक पक्ष, अर्को प्राकृतिक पक्ष हुन्छ। हिजोको दुर्घटना प्राकृतिक र प्राविधिक पक्ष भएको देखिँदैन।'  

काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.