|

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव परिवारलाई बुझाउन शुरु गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै हालसम्म संकलन गरिएका ६९ वटा शवमध्ये ४१ वटाको पहिचान खुलेको जानकारी दिएको छ। पहिचान खुलेकाहरूको शव आफन्तलाई देखाएर यकिन गरेपछि पोस्टमार्टम गरेर दिन लागिएको हो।

शव बुझाउन शुरु गरिएकाले पोखराबाट शव बुझ्न चाहनेले त्यहीँबाट बुझ्न सक्ने र बाँकी मृतक यात्रुहरूको शव पोखराबाट काठमाडौं लगिने पनि प्राधिकरणले बताएको छ।

चालक दल र विदेशी यात्रुका शवलाई काठमाडौं लैजाने तयारी छ। त्यसका लागि सोमबार अपराह्न नै नेपाली सेनाको एमआई १७ हेलिकोप्टर पोखरा आइपुगेको छ।

शवको पहिचान खुल्ने क्रम जारी रहेकाले पोस्टमार्टमलाई सहज र छरितो बनाउन काठमाडौंबाट फरेन्सिक विज्ञ टोली हेलिकोप्टरमार्फत नै पोखरा आएर काम गरिरहेको छ।

काठमाडौंबाट पोखराका लागि आइतबार बिहान आएको यती एयरलाइन्सको जहाज अवतरण हुन लाग्ने समयमा सेती नदीको खोंचमा पुगेर दुर्घटना भएको थियो।  जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना रहेका थिए।

दुर्घटनामा परेकामध्ये ६९ जनाको शव भेटिएको भए पनि ३ जनाको अवस्थाको बारेमा भने पत्ता लाग्न सकेको छैन। उनीहरूको खोजीका लागि दुर्घटनास्थलमा सुरक्षाकर्मीका विशेष तालिमप्राप्त टोलीहरू परिचालन भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.