|

दाङ : लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा गरि ४ जनाले मनोनयन दर्ता गराएका छ्न्।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीले मनोनयन दर्ता गराएका छ्न्।

उनले  सोमबार  दिउँसो सवा १ बजे प्रस्तावकमा एमालेका नेता तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरीको समर्थनमा उम्मेदवारी मनोनयन गरेका थिए। घर्ती माओवादी केन्द्रबाट पाल्पा निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। 

उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको सचिव पुनमगरले जानकारी दिए। उनका अनुसार उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसी, नेपाली काङ्ग्रेसका विश्वप्रेम पाठक, नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारू (चौधरी) ले उम्मेदवारी दर्ता गराएका हुन्।

खाँडले दिउँसो १ बजेर २० मिनेटमा प्रस्तावकमा नेकपा माओवादी केन्द्र नेता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारु र जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ताको समर्थकमा उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए। मेनुका राप्रपाबाट गुल्मीबाट समानुपातिक सांसद बनेकी हुन्।

पाठकले दिउँसो ४ बजेर १७ मिनेटमा काङ्ग्रेस नेता, प्रदेशसभा सदस्य वसीउद्दीन खां प्रस्तावक र काङ्ग्रेस नेता, प्रदेशसभा सदस्य राजु खनालको समर्थनमा मनोनयन दर्ता गरेका थिए।

थारूले दिउँसो ४ बजेर ४० मिनेटमा, प्रदेशसभा सदस्य नरमाया ढकाल प्रस्तावक, प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएको  प्रदेश सचिव पुन मगरले जानकारी दिए।

मनोनयन दर्ताको समय बेलुका ५ बजेसम्म दिइएको थियो। मंगलबार दिउँसो १ बजे सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।

८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदको समर्थन रहेको छ।

नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत, लोसपाका ३/३ र २ स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन्।

नेपाली कांग्रेसका २७ जना, नेकपा एकीकृत समाजवादीका १ जना र जनमोर्चाका १ जना गरी २९ जना मात्रै विपक्षमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.