|

विराटनगर : १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबार शुरू भएको छ। ​विराटनगरस्थित शहीद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेका थिए। 

पहिलो दिन ३ वटा खेल भएका छन्। ३ खेल सकिँदा रंगेलीको बालदेवदूत विद्या मन्दिर, विराटनगरको बूढानीलकण्ठ र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल एकाडेमीले शुरूवाती अग्रता लिएका छन्।

शुक्रबार सम्पन्न छात्रतर्फको शटपुटको फाइनलमा रंगेलीको बालादेवदूत विद्या मन्दिरका सुदिप कार्कीले स्वर्ण पदक जितेका छन्। विराटनगरको कोशी विद्या मन्दिरका युनिक मेहताले रजत र बेलबारीको माउन्ट एभरेष्ट सेकेण्डरीका प्रशान्त न्यौपानेले कास्य पदक जितेका छन्। यो प्रतियोगिताको छात्रातर्फको फाइनल शनिबार हुनेछ।

छात्रातर्फको लङजम्पको फाइनलमा  विराटनगरको बूढानीलकण्ठ स्कुलकी रोश्नी विश्वासले स्वर्ण, धनपालथान गाउँपालिकाको जीवन विकास स्कुलकी रेग्मी शर्माले रजक र सुन्दरहरैंचाको बालप्रतिका स्कुलकी पवित्रा भूजेलले कास्य पदक जितेकी छिन्। छात्रतर्फको खेल हुन बाँकी छ। 

यसैगरी छात्रातर्फको ज्यावलिङ थ्रोको सम्पन्न फाइनल खेलमा सुन्दरहरैंचाको पूर्वाञ्चल एकाडेमीका कृष्पा कार्कीले स्वर्ण, सुन्दरहरैंचाको बालप्रतिभा स्कुलकी रेबिका श्रेष्ठले रजत र ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुलकी अन्जु माझीले कास्य पदक जितेकी छिन्। छात्रतर्फको फाइनल शनिबार हुनेछ। 

बास्केटबलको फाइनलमा बिकेभिएम र सगरमाथा

प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत भएको बास्केटबल प्रतियोगिताको फाइनलमा विराटनगरको सगरमाथा स्कुल र बिकेभिएम पुगेका छन्।

एभरेष्ट स्कुलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा बिकेभिएमले एभरेष्ट स्कुललाई ३७–८ स्कोरले हराउँदै बिकेभिएम स्कुल फाइनलमा पुगेको हो। सोही दिन भएको दोस्रो खेलमा सगरमाथा स्कुलले सिद्धार्थ स्कुललाई ४२–२ स्कोरले हराउँदै सगरमाथा स्कुल फाइनलमा पुगेको छ। बास्केटबलको फाइनल शनिबार हुनेछ। 

फुटबलको सेमिफाइनलमा ४ स्कुल

​फुटबलतर्फ विराटनगर जुट मिलको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा बेलबारीको शिक्षा सन्देश स्कुलले रंगेलीको मिनील्याण्ड स्कुललाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ। जितको लागि शिक्षा सन्देशका निर्णायक गोल आशिष मगरले गरे। 

दोस्रो खेलमा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले बाल्मिकी स्कुललाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ। तेस्रो खेलमा सिद्धार्थ स्कुल विजयी भयो। सिद्धार्थले मोरङ मोडल स्कुललाई ट्राइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

चौथो खेलमा बेलबारीको शिक्षा सदन स्कुल सेमिफाइनल पुगेको छ। शिक्षा सदनले सप्तकोशी स्कुललाई ३–२ गोलले हराउँदै सेमिमा पुगेको हो। 

माघ ८ गतेसम्म हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेल समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन्। स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथन, शटपुट, थ्रिपल जम्प, हाइजम्प, लङजम्प, दौडलगायत खेल रहेका छन्। 

स्पोर्ट्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २२० वटा स्कुलका विद्यार्थीले भाग लिएका छन्। स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्न प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन्। 

खेलकुदको विकासमा प्रदेश लागि पर्छ : मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री कार्कीले योजनाबद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा प्रदेश १ सरकार लागि परेको बताएका छन्। १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको शुक्रबार उद्घाटनमा उनले यस्तो बताएका हुन्।

उनले खेलकुद महत्वपूर्ण क्षेत्र भएकोले यसको विकासमा सरकार लागि पर्ने बताए। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदको विकासमा स्थानीय सरकार पनि लागिपर्ने बताए।

प्याब्सनका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष टीकाराम पुरीले विद्यालयस्तरदेखि खेलकुदको विकास गर्न निजी क्षेत्र लागि परेको बताए। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीन तहको सरकार खेलकुदको विकासमा लागिपर्ने बताए। 

फोटोहरू छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.