|
फाइल तस्वीर

काठमाडौं : मौसम विज्ञान विभागले आउँदो भोलि (सोमबार) रातिदेखि पश्चिम नेपालबाट शुरु भएर बिहीबारसम्म काठमाडौंलगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। 

हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

यस वर्ष हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा न्यून वर्षा भएको विभागले जनाएको छ। विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यस वर्ष हिउँदमा सबैभन्दा न्यून पानी परेको हो।

सन् १९९१ देखि २०२० सम्म डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव १ मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख छ। 

अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्म २७ दशमलव १ मिलिमिटर पानी परेको थियो। नेपालमा मंसिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी पनि कम परेको जलवायुविज्ञ धर्मराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार हिउँदमा पानी कम पर्दा सुक्खा बढेकाले यसको असर हिउँदे बालीमा प्रत्यक्ष पर्नेमात्र नभएर बहुआयामिक असर पर्नेछ। हिउँदमा पानी कम पर्दा पानीका मुहान सुक्ने वा मुहानको पानी घट्ने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायत समस्या आउनसक्ने जलवायुविज्ञ बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.