|

काठमाडौं : राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्।

सोमबारको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवको समाचार छ, हालसम्म सात लाखको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण संकलनलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताए। ‘विभागको अहिले मुख्य काम विवरण संकलन हो। संकलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि’, उनले भने।

परिचयपत्रका लागि देशैभर विवरण संकलन गरिए पनि अहिले वितरण भने सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालय तथा काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट मात्र गरिएको  छ। २०७५ मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीया वृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर थालिएको थियो।

ढकालका अनुसार अहिले विभागले मुलुकभर एक हजार ६८ केन्द्रबाट विवरण संकलन गरिरहेका  छन्। अहिले नै ती केन्द्रले विवरण संकलनको सट्टा कार्ड वितरण गर्न थाल्ने हो भने संकलन अवरुद्ध हुनसक्छ। व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको कार्डभन्दा पनि त्यसको नम्बर आवश्यक रहेको निर्देशक ढकालले बताए। ‘कार्ड बोके पनि प्रयोग हुने त्यसको नम्बर नै हो। कार्डको फोटोकपी होइन। विवरण संकलनको समयमा जुन नम्बर दिइन्छ, त्यही नम्बर कार्डमा पनि हुन्छ। त्यसैले नम्बर पाउनु भनेको कार्ड पाउनुसरह नै हो।’ हाल राष्ट्रिय परिचयपत्रको नम्बर राहदानी बनाउनका लागि अनिवार्य छ।

एक करोड दुई लाखको विवरण संकलन

परिचयपत्रका लागि मङ्सिरसम्ममा एक करोड दुई लाख ९३ हजार १३७ जनाको विवरण संकलन गरी नम्बर प्रदान गरिएको छ। आगामी आर्थिक वर्ष २०८०र८१ सम्ममा विवरण संकलन कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ। अहिलेसम्म ४५ जिल्लामा विवरण संकलन अभियान सम्पन्न भइसकेको र १६ जिल्लामा सञ्चालनमा रहेको ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.