|

रौतहट : पछिल्लो समय जिल्लाका वनबाट दाउराको नाममा काँचा सालका रुख काटेर लाने क्रम बढेको छ। जाडोको बहाना गर्दै दाउरा खोज्न आएर वनबाट काँचो सालका लाथ्रा काटेर लग्ने गरेको वन कर्मचारी बताउँछन्।

अरुदिनको तुलनामा शनिबारको दिन जंगलमा दाउरा काटन आउनेको भीड लाग्ने चोचा वन सब डिभिजन कार्यालयका प्रमुख हिरोइत चौधरीले बताए। यो वन क्षेत्रको नहरको छेउमा बसेको वन कर्मचारीको टोलीले शनिबार दाउराको नाममा काटेर ल्याएका काँचा सालका लाथ्रा बरामद गरेको थियो।

साइकल लिएर वनमा पस्न खोज्ने धेरैलाई आफूहरूले लखेटेको चौधरीले बताए । राजमार्ग दक्षिणको जंगल छाडेर दाउराको नाममा सालका काँचा लाथ्रा काटनेहरू राजमार्ग पूर्वतिर आउन थालेपछि आफूहरू राजमार्गमै बसेर कडाइ गर्न थालेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जानकारी दिए।

धन्सार वन डिभिजनका कर्मचारी शनिबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गमा बसेर दाउरा लिन आउनेलाई लखेट्दै थिए। चोचा वन सब डिभिजनका कर्मचारी बागमती सिँचाइको नहरमा बसेर साइकलमा दाउरा लिन आउनेलाई लखेटिरहेका थिए।

साना सान सालका रुख काटेर गोलिया बनाएर साइकलमा दाउरा भन्दै ल्याउनेहरूका कारण रौतहटको वन तीव्र रूपमा मासिँदै गएको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख कर्णले वनमा हुने चोरी तस्करी रोक्न आफूहरूले प्रयास गरिरहेको बताए ।

पछिल्लो समय जिल्लाको वनबाट दाउराका नाममा जाने सालका लाथ्रा स्थानीय इँटाउद्योग र चिरान मिलसम्म पुग्ने गरेको छ। पछिल्लो समय ठुला रुख चोर्ने भन्दा साइकलमा काँचा सालका लाथ्रा काटेर लग्नेहरूले दुःख दिएको चोचा सब डिभिजन कार्यालयका प्रमुख चौधरीले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.