|

पर्वत : उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा हुने सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ। समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको र माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै तयारीहरू पुरा भएका छन्।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको र दर्शकलाई स्वागतका लागि तयार भएर बसेको बताए। महोत्सवको उद्घाटन स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्री पदम गिरीले गर्ने तय भएको छ। गिरी पर्वत जिल्लाबाट इतिहासमा पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्।

मूल आयोजक उद्योग वाणिज्य सङ्घ पर्वतका अनुसार दुई सय ५० वटा स्टल मध्ये अधिकांश बुक भइसकेका छन्। यस पटक स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टल सुविधा दिइएका कारण स्थानीय व्यवसायीहरूले नै बढी स्टल लिएका छन्।

 महोत्सवमा बाहिरबाट व्यापारी आउने र स्थानीय व्यवसायीले उल्टै नोक्सानी बेर्होनुपर्ने गुनासा यस अघि आएका कारण स्टलमा स्थानीय व्यवसायीलाई नै प्राथमिकता दिइएको अध्यक्ष अधिकारीको भनाई छ। स्थानीय लघु, घरेलु, तथा व्यवसायीलाई समेत निःशुल्क स्टलको सुविधा दिइएको छ। स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्न निःशुल्क स्टल दिइएको हो। 

महोत्सवमा पाँच करोड भन्दा बढीको कारोबार गर्ने अपेक्षा लिइएको छ। समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरूको प्रवर्द्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यवसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहेको छ। 

महोत्सवमा विश्वकै अग्लो दापी गरिएको बन्जी जम्प, जिपलाइन, कालीगण्डकी नदीमा  ¥याफ्टीङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोकताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारहरूको प्रदर्शनीका मुख्य आकर्षण रहने छन्।  

महोत्सवमा गण्डकी प्रदेश पालिका स्तरीय भलिबल खेल प्रतियोगिता पनि आयोजना गरिएको छ। दुई लाख राशिको भलिबल प्रतियोगिता पर्वत जिल्लामा अहिले सम्मको सबैभन्दा ठुलो पुरस्कार राशि हो। यस्तै ५० हजार राशिको महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ। 

त्यस्तै झाँकी प्रदर्शनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरूका फरक फरक सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने महोत्सवको सचिवालयले बताएको छ।

महोत्सव अवलोकन गर्नका लागि दर्शकहरूलाई एक सय रुपैयाँको टिकट तोकिएको छ भने विद्यार्थीहरूलाई ६० रुपैयाँ टिकट दर राखिएको आर्थिक संयोजक ठाकुर बी. पौडेलले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.