|

बैतडी : शहीद दिवसकाे पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा  दशरथचन्द नगरपालिका-२ देहिमाडाैं र दशरथचन्द नगरपालिका-१० बाराकाेट विजयी भएका छन्। 

पहिलाे खेलमा देहिमाडाैंले दशरथचन्द नगरपालिका-५ लाई ६५ रनले जित्यो। १४४ रनकाे लक्ष्य पन्छाउने क्रममा दशरथचन्दले निर्धारित १५ ओभरमा ४ विकेटकाे क्षतिमा ७८ रन मात्रै बनाउन सक्याे। ममता लेखकले सर्वाधिक २७ रन बनाए पनि टाेलीलाई जिताउन सकिनन्।

देहिमाडाैंका लागि लक्ष्मी बाेहरा, मनिषा बाेहरा र निर्मला बाेहराले १/१ विकेट लिए । 

त्यसअघि घरेलु मैदान निङ्लाशैनी क्रिकेट  मैदानमा पहिला ब्याटिङ गरेकाे देहिमाडाैंले १५ ओभरमा ६ विकेटको क्षतिमा १४३ रन बनायाे। जसमा पिङ्की बाेहराले ३१ र मनिषा बाेहराले २७ रनकाे याेगदान गरे।

दशरथचन्दका लागि आयुस्मा चन्द र चन्द्रा काेलीले २/२ विकेट लिए। 

देहिमाडाैंकी मनिषा बाेहरा ओम्यान अफ द म्याच चुनिएकी स्काेरर खेमराज भट्टले जानकारी दिए। 

दाेस्राे खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई बाराकाेटले ५ विकेटले स्तब्ध पार्‍यो। 

नागार्जुनले दिएकाे ८८ रनकाे लक्ष्य बाराकाेटले १२ ओभर १ बलमा ५ विकेटकाे क्षतिमा पूरा गर्‍यो। रितु बुडालले अविजित १९ र रिमी चन्दले १५ रनकाे याेगदान गरे।

नागार्जुनकी जानकी भण्डारीले २ विकेट हात पारिन्। त्यसअघि पहिला ब्याटिङ गरेकाे नागार्जुनले निर्मला भण्डारीकाे २२ रनकाे मद्दतमा १५ ओभरमा ७ विकेटकाे क्षतिमा ८७ रन बनायाे।

बाराकाेटका ममता लावड र राया धामीले २/२ विकेट लिए। ​बाराकाेटकी  रितु बुडाल ओम्यान अफ द म्याच चुनिइन्। 

वर्षाका कारण आजका खेल १५/१५ ओभरका खेलाइएको  प्रतियोगिता संयाेजक वीरसिंह बाेहराले जानकारी दिए। दशरथचन्द नगरपालिकाकाे वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिकाे आयाेजनामा माघ ९ गते शुरू भएकाे प्रतियोगिता माघ १७ गते सकिनेछ। 

नगरका ७ टाेलीकाे सहभागिता रहेकाे प्रतियोगिताकाे प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय  पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले  बताए।

प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट ब्याट्स ओमेनलाई  १५/१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि तथा प्रमाणपत्र दिइनेछ।  

प्रतियाेगिताकाे समापनकाा दिन दशरथचन्द नगरपालिकाका अन्तरराष्ट्रिय खेलाडीलाई दाेसल्ला र कदरपत्रसहित सम्मान गरिनेछ। यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेकाे थियाे। 

प्रतियोगितामा सहभागी खेलाडीकाे हाैसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही १५० रूपैयाँका दरले खेलाडीलाई नगद दिने गरिएको छ।

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र महिलालाई क्रिकेटमा रुची बढाउन तथा दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयाेजना गरिएकाे दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाईले बताए। 

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेकाे नगर खेलकुद विकास समिति अध्यक्ष चन्दकाे भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.