जनकपुरधाम : मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले शहीदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न सांसद्हरूलाई अनुरोध गरेका छन् ।
शनिबार भएको मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवस समारोहमा प्रदेश प्रमुख मिश्रले मधेशी शहीदहरूको सपनालाई मनन गरी अगाडि बढ्न सांसद्हरूसँग आग्रह गरेका हुन्।
प्रदेश प्रमुख मिश्रले ज्यानको आहूति दिने शहीदहरूको विचारलाई ध्यानमा राखी प्रदेशको विकासमा ध्यान दिन समेत आग्रह गरे। प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। समारोहमा सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशसभाले पछिल्लो पाँच वर्षमा उल्लेख्य काम गरेको बताए ।
कम श्रोत साधनका बाबजुद जनअपेक्षित काम गरेको उनको भनाइ छ । सभामुख मण्डलले प्रदेशसभाको आफ्नै भवनको आवश्यकता रहेको पनि बताए । सभामुख मण्डलले प्रदेशसभालाई जीवन उपयोगी बनाउनुपर्ने भन्दै यसका लागि कडा मेहेनत गर्न पनि सांसद्हरूसँग अनुरोध गरे।
सभामुख मण्डलले प्रदेशसभाको वार्षिकोत्सवमा धेरै सांसदहरू अनुपस्थित भएकोमा दु:खसमेत व्यक्त गरेका थिए । सभामुख मण्डलले संघीयता खर्चियो व्यवस्था रहेको भनेर टिप्पणी हुन थालेकोप्रति असन्तुष्टि जनाए।
संघीयता खर्चिलो भएको कुरा सतही मात्र भएको पनि उनको भनाइ छ । संघियताको विकल्प बारे सोच्न नसकिने भन्दै उनले कडा परिश्रम गरेर संघीयता सार्थक गर्नुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।