|

सुर्खेत :  निर्माण सुरु भएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका –१० र रुकुम पश्चिम आठबीसकोट –५ स्यालाखदी जोडिन सकेको छैन। 

२०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धरा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्न सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो। पटक–पटक थपिएको म्याद गरी २०७७ पुस ३० भित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म एक भागको पिल्लर मात्रै बनेको छ। 

सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए। मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा  अन्तिम पल्ट पत्र लेखेको प्रमुख कर्णले जानकारी दिए। तोकिएको समयमा स्पष्टीकरण पेश नभए ठेक्का सम्झौता सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम प्रावधानको अनुशरण गरी कारबाही गर्न बाध्य हुने पत्रमा उल्लेख छ। 

यो अवधिमा काम केही सामान्य काम भएकोमा त्यहाँका मजदुरले पारिश्रमिक समेत नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए। रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीरर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे। ​

गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेको मजदुरले  १० लाख नपाएका बताएका छन्। स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले ६ लाख रकम नपाएको बताए। स्थानीयवासी चंखलाल नेपालीको ट्रयाक्टर प्रयोग गरे मार्फत जेभीले ६ लाख र  आफूहरूले खाना खाएको २ लाख रकम समेत निर्माण व्यवसायीले भुक्तानी नगरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन्। 

जाजरकोट खण्डमा सामान्य पिल्लर उठाएको पाइएको छ। मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्काले बैंक ग्यारेन्टी समेत राखेर काम सुरु गरेका थिए। सम्झौता मिति भन्दा बढी समय लगाएपछि पेस्की बराबरकै रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै मेयर खड्का काम छोडेका थिए। 

मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँको नाममा कार्यालयबाट गएको पेस्कीस्वरूप ९० लाख रुपैयाँ लिइसकेकाले ठेक्काको काम छोडेर खड्कालाई बाहिरिन सजिलो भएको थियो। ९ करोड रुपैयाँमा पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ।  खड्काले बीचमै काम छोडेपछि मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धरा काठमाडौंले अहिलेसम्म पुलको काम अघि बढेको छैन।

भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने यो पुलको काम सात वर्षसम्म नहुँदा यहाँको विकास निर्माणसमेत अवरुद्ध भएको छ। भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने काम समेत अवरुद्ध भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.