आज प्रदूषित शहरको सूचीमा नयाँ दिल्ली पहिलो‚ काठमाडौँ १२औँ नम्बरमा

|
फाइल तस्वीर

काठमाडौँ : सोमवारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण घट्न थालेको छ।

‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ। 

सो तथ्याङ्कअनुसार मङ्गलवार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) १२७ सम्म पुगेको थियो भने गत शनिवार १९२, आइतवार १७६, सोमवार १५६ पुगेको वायु प्रदूषण आज ८९ मा झरेको हो। 

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरमा सूचीकृत भएकामा आज भने घटेर १२ औँ स्थानमा ओर्लिएको छ। 

आज भारतको राजधानी दिल्ली विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पुगेको छ। दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५९ पुगेको छ‚ जसलाई अस्वस्थ मानिन्छ। 

यसैगरी विश्वको दोस्रो प्रदूषित शहरमा आज कङ्गो छ। त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५२ पुगेको छ।

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण घटाउन सहयोग पुगेको बताए। 

डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदै गएको उनको भनाइ छ।

विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती पनि अझै केही दिन वर्षा हुने भएकाले वायु प्रदूषण पनि घट्दै जाने बताउँछन्।

उनका अनुसार शून्यदेखि ५० सम्मको वायु गणस्तर एक्यूआई राम्रो (हरियो संकेत) मानिन्छ। ५१ देखि १ सयसम्मको एक्यूआईलाई होशियार रङ्ग अथवा पहेँलो संकेत, १०१ देखि १५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले श्वासप्रश्वास र मुटु रोगका विरामीलाई असर गर्छ भन्ने बुझिन्छ। 

१५१ देखि २ सयसम्मको एक्यूआईले सबैलाई असर गर्ने, २०१ देखि ३ सयलाई धेरै अस्वस्थ र सोभन्दा माथि ४ सयलाई खतरनाक र ४ सयदेखि माथि ४५० लाई धेरै खतरा मान्ने गरिएको उप्रेतीले बताए।

सरकारले निर्धारण गरेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्यूआईको मान ३ सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ। 

वायु प्रदूषण रोक्न फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, विरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.