|

खजुरा : अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला विहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्।

अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन्।

नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताइन्। उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन्।

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाविहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताइन्। 

कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगञ्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताइन्।

बर्दियाको बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले दैनिक बर्दियाबाट नेपालगञ्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आएकी छन्। उनले हरेक दिन विहानै नेपालगञ्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौं भइसकेको बताइन्।

महिला उद्यमीका साथै वडा सदस्यसमेत रहेकी थारुले वर्षौंदेखि आफूले खेती गर्दै आएको बताइन्। 

“म पहिलादेखि नै कृषिमा आबद्ध थिएँ, १० वर्षदेखि खेती गर्दै छु। अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्ज ल्याएर बिक्री गर्दै आएकी छु”, उनले भनिन्, “स्थानीय चुनावमा महिला सदस्यका रुपमा निर्वाचित भएपछि तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर महिला दिदीबहिनीलाई सम्झाउने गरेकी छु।”

आफू जनप्रतिनिधि भए पनि कृषिमा रमाइरहेको भन्दै दुसानीले विहानभरि नेपालगञ्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताइन्। 

पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगञ्जसम्म आउने गरेकामा अहिले भने गाडीको प्रयोग गर्न थालेको उनको भनाइ छ।

नेपालगञ्जको धम्बोझीस्थित सिटिजन बैंकअगाडि सडकको किनार (सडक पेटी)मा महिलाले तरकारी बजार लगाउने गरेका छन्। सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको गुनासो दुसानीले गरिन्। 

“यसरी व्यावसायिक रुपमा तरकारी बेच्न थालेको ३ वर्ष भयो। अहिले १५ कठ्ठा जग्गामा विभिन्न तरकारी उत्पादन गर्दै आएकी छु”, उनले भनिन्। तरकारी बिक्रीबाटै ५ जनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताइन्। 

“देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपालीले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु”, उनले भनिन्।

स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र बिक्री वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उनको माग छ। 

नेपालगन्ज सडकमा दुसानी थारुजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाविहानै तरकारी ल्याएर बिक्रीवितरण गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.