देशभरका माविमा २४ हजारभन्दा बढी शिक्षक अपुग

|

काठमाडौँ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गते परीक्षा सञ्चालन हुने तालिका सार्वजनिक गरिसकेको छ। त्यसो त परीक्षा केन्द्रित रहेर अधिकांश परीक्षार्थी एसइईको तयारी गरिरहेका छन्। केही विद्यार्थी भने शिक्षक अभावले पढाइ नभएपछि आन्दोलन गर्न बाध्य भएका छन्। 

धनुषाको वटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा तीनजना विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ। साउन महिनाबाट शिक्षकको व्यवस्था नभएपछि विद्यार्थीहरू आक्रोशित हुन थालेका छन्।

गत आइतबार विद्यार्थीहरूले प्रधानाध्यापक र जनप्रतिनिधिविरुद्ध बाटोमै टायर बालेर चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले वटेश्वर–१ को वडा कार्यालयमा तोडफोड गरे। 

कक्षा १० मा अध्ययनरत अनिशा सिंहले एसइई परीक्षा आइसक्दा पनि अझै शिक्षक अभावले पढाइ नभएको बताइन्। उनले भनिन्, ‘परीक्षा आइसक्यो तैपनि यहाँ हाम्रो भविष्यमाथि खेलवाड गर्ने काम भइरहेको छ।’

तत्काल शिक्षकको पदपूर्ति गरी पढ्ने वातावरण मिलाउनुपर्ने उनीहरूको माग छ। उनका अनुसार विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषय पढाउने शिक्षक नभएकाले गत साउन महिनाबाट यी विषयको पढाइ हुन सकेको छैन।

यसो भन्छ गाउँपालिका

वटेश्वर वडा नं १ का वडाध्यक्ष अशोककुमार महतोले मावि तहमा अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक सरुवा भएर गएपछि यो समस्या निम्तिएको बताए।

उनका अनुसार स्थानीय तह निर्वाचन आचारसंहिता लाग्नुअघि नै उक्त दरबन्दीमा शिक्षकको पदपूर्ति गरेपछि मात्रै ती शिक्षकलाई बिदाइ गर्ने भनी स्कुलमै गएर प्रधानाध्यापकलाई सुझाव दिएका थिए।

‘प्रधानाध्यापकले शिक्षक धेरै समस्यामा हुनुहुन्छ, म अर्को शिक्षक ल्याइहाल्छु। उहाँलाई बिदा गरौँ भनेपछि मैले त्यसो भए हुन्छ। यसको जिम्मेवारी म लिन्न भनेको थिएँ। उहाँले घरपायक ठाउँमा शिक्षकलाई पठाइहाल्नु भयो। म त बिदाइ कार्यक्रममा पनि गइनँ’‚ उनले भने।

पटक-पटक शिक्षक व्यवस्थापनको कुरा गर्दा पनि प्रधानाध्यापकले हुन्छ भन्दै आलटाल मात्रै गरिरहेको उनको भनाइ छ। ‘शिक्षा क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ। पढाइ प्रभावित नबनाउन छिटो शिक्षकको व्यवस्था गर्न उहाँलाई सुझाएँ। मैले एकजना अनुभवी शिक्षक खोजेर ल्याऊँ भनेर भन्दा हुन्छ भनेपछि उहाँलाई बोलाइयो’‚ उनले भने।

ती शिक्षकले पढाउँदा विद्यार्थीहरू सन्तुष्ट थिए तर अहिलेसम्म ती शिक्षकलाई नराखेको र अरू शिक्षकको पनि खोजीका लागि प्रक्रिया नथालेको उनले बताए।

‘मैले गाउँपालिकाबाट स्वीकृति लिएर उहाँलाई राख्ने प्रक्रिया थाल्नु भनेँ तर उहाँले विद्यालय व्यवस्थापन समिति बनेपछि मात्रै राख्ने भन्दै आउनुभयो। मैले तत्काल आवश्यक छ, मिलाउँदा हुन्छ भन्दा पनि मान्नु भएको छैन’‚ उनले भने। 

विद्यालयकै आलटालमा शिक्षक व्यवस्थापन नहुँदा वडामा तोडफोड भएको उनको भनाइ छ। ‘म काम विशेषले बाहिर थिएँ, विनासूचना प्रधानाध्यापकले वडासँग शिक्षक माग्नु भनेर विद्यार्थीहरूलाई पठाउनु भएछ’‚ उनले भने, ‘म नभएका वेला तोडफोड गरे।’

उक्त घटनापछि विद्यालयमै गएर कुरा गरेपछि उनले गल्ती स्वीकारेको वडाध्यक्ष महतोले बताए।

तत्काल शिक्षक व्यवस्थापनका लागि आफूले प्रधानाध्यापकसँग समन्वय गरी पहल गरिरहेको उनको दाबी छ। गाउँपालिका शिक्षा शाखा प्रमुख रामलाल महतोले पनि शिक्षकको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिए। ‘त्यहाँ माविसम्म सञ्चालनमा छ तर माविको दरबन्दी नभएर प्रावि र निमाविका शिक्षकबाट कक्षा सञ्चालन गर्दै छौँ’‚ महतोले भने, ‘दरबन्दी ल्याउन समस्या छ। भन्नेबित्तिकै आउँदैन तर पहल हुँदै छ।’

उनले एसइई परीक्षा नजिकिएकाले तत्कालका लागि वैकल्पिक उपायबाट विद्यार्थीहरूलाई पढाउन लागिएको जानकारी दिए। ‘तत्कालका लागि बिहान र बेलुका गरी ‘थप कक्षा’ चलाउन  लागिएको छ। त्यसपछि विद्यार्थीहरूलाई समस्या हुँदैन, शिक्षक पनि खोज्दै छौँ’‚ उनले भने।

माविमा २४, ३८४ शिक्षक अपुग

सरकारले समयमा शिक्षककाे व्यवस्थापन नगर्दा विद्यार्थीकाे भविष्य डामाडाेल भएकाे छ। 

शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिको प्रतिवेदनमा देशभर सामुदायिक विद्यालय २६ हजार ४५४, संस्थागत विद्यालय ६ हजार ७६० र धार्मिक विद्यालय १ हजार १५४ गरी कुल ३४ हजार ३६८ विद्यालय सञ्चालनमा रहेको तथ्यांक उल्लेख छ। 

समितिको प्रतिवेदन, शिक्षक दरबन्दी पुनर्वितरण कार्यदल २०७५ अनुसार देशभर कुल ९ हजार ४४७ वटा माध्यमिक विद्यालयमा हाल कार्यरत शिक्षक १९ हजार ५१७ छन् तर विद्यार्थी संख्या तथा विषयगत आवश्यकताका आधारमा माध्यमिक तहमा जम्मा शिक्षक दरबन्दी संख्या ४३ हजार १२ जना देखिएको छ।

यो हिसाबले २४ हजार ३८४ शिक्षक अपुग देखिन्छ तर शिक्षक सेवा आयोगले गत पुस २५ गते सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा विभिन्न विषयका ६८४ शिक्षकको मात्रै विज्ञापन गरेको छ। 

६ हजार ५०१ माध्यमिक विद्यालयमध्ये ७१ वटामा मात्र विज्ञान, गणित र अंग्रेजी विषयका सोही तहका विषयगत शिक्षक रहेका छन्। १०२ वटामा मात्र गणित र अंग्रेजी विषय तथा १०४ वटामा मात्र विज्ञान र अंग्रेजी विषयका सोही तहका शिक्षक रहेको प्रतिवेदनमा उल्लेख छ। यसले बढी माध्यमिक तहमा अंग्रेजी र विज्ञान विषय पढाउने शिक्षकको अभाव देखिएको छ।

नयाँ शिक्षक दरबन्दी मिलान नहुँदा समस्या : स्रोत विकास केन्द्र

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले नयाँ दरबन्दी सिर्जना नभएकाले यी माथिका अपुग अनुसार विज्ञापन नगरिएको बताए।

‘दरबन्दी सिर्जना भएको छैन, दरबन्दी सिर्जना भएपछि मात्रै यी माथिका अपुगअनुसारको विज्ञापन हुने हो, अहिले त जुन पुरानै खाली हुन्छ। त्यसमा मात्रै विज्ञापन हुन्छ’‚ उनले भने। 

उनका अनुसार मावि र निमाविमा विषयगत दरबन्दी कम छ। ‘कम छ भनेर प्रतिवेदन आयो, त्यो प्रतिवेदन आधारमा नयाँ दरबन्दी थप भएको छैन। २०५६ साल यता राहत बाहेक दरबन्दी सिर्जना भएको छैन, सबै दरबन्दी मिलान पूरा भएपछि सरकारले नयाँ दरबन्दी सिर्जना गरेर नयाँ भयो भने विज्ञापन हुन्छ’‚ उनले भने।

जारी हुन लागेको संघीय शिक्षा ऐनले यसलाई सम्बोधन गर्ने उनको अपेक्षा छ। ‘सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने कुरा छ। त्यो भएपछि अपुगअनुसारको विज्ञापन हुने हो। यसका लागि नयाँ शिक्षा ऐनले सम्बोधन गर्ला’‚ उनले भने।

उनले धनुषाको लक्ष्मी माध्यमिक विद्यालयको शिक्षक समस्याबारे स्थानीय तहले हेर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.