|

जुम्ला : जिल्लाको नाग्मा सडक खण्डको अधिकांश ठाउँमा तीव्र अतिक्रमण भएको छ। सडकका विभिन्न स्थानमा मनपरि रुपमा घर, टहरा, निर्माण हुन थालेका छन्।

सडकमा अव्यवस्थित रूपमा गिट्टी, बालुवा, ढुङ्गा, लगायतका सामग्री सडकमा नै थुपारेका छन्। जुम्ला सडक खण्ड कालोपत्रे भएसँगै सडक अतिक्रमण पनि ह्वात्तै बढेको जुम्लाका नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

जुम्लाको रारालिही बजार, त्रिवेणी, कुडारी, लिताकोट, तातोपानी, एैरेनी, लाम्रा,उम्गाड र बसपार्क क्षेत्रमा सडक अतिक्रमण बढेको उनी बताउँछन्।

सडक अतिक्रम गरी अस्थायी टहरा बनाउनेहरूमा पँहुचवाला नै बढी छन्। 

जुम्ला बजारमा मात्रै सडक अतिक्रम गरी दुईवटा घर बनेका छन्। नापी कार्यालय जुम्लाले रेखांकित गरेअनुसार लोकदर्शन श्रेष्ठ र राजु खत्रीको घर सडक अतिक्रम गरी बनेका सडक डिभिजन जुम्लामा कार्यरत कर्मचारी वीरेन्द्र रावल बताउँछन्। 

सडक डिभिजन कार्यलयले सार्वजनिक सडक तथा सडक सीमा अतिक्रमण हटाउनेसम्बन्धी सूचना जारी गर्दै आएको छ। तर, कर्णाली राजमार्गको जुम्ला नाग्मा सडक खण्डअन्तर्गत सडक संरचनाभित्र सडक प्रयोगकर्ताको आवागमनमा बाधा पुग्ने र सार्वजनिक हित प्रतिकुल हुने गरी राखिएका निर्माण सामग्री, व्यवसायका सामानहरू हटाइएको छैन।डिभिजन कार्यालयले अतिक्रमण गरी बनाएका टहरा, थुपारिएको माटो आदि सात दिनभित्र हटाउन पटक-पटक सूचना जारी गरे पनि कार्यान्वयन नभएको जुम्लाका स्थानीयको गुनासो छ।

सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सडकमा बनाइएका घरटहरा हटाउनु परेको खण्डमा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नै असुलउपर गरिने उल्लेख छ। सडक सबैको साझा सम्पत्ति भए पनि दिनप्रति दिन यसरी अतिक्रम बढ्दै जादा यहाँको सरोकारवाला निकाय भने मौन बसेको पाइन्छ। 

त्यस्तै, सडक डिभिजनले सूचना जारी गरिएको भन्दै झारा टार्ने काम गर्दै आएको छ भने जुम्लाका पहुँचवाला व्‍यक्तिले सडक अतिक्रमण गर्ने गरेका छन्।

कर्णाली राजमार्ग कालोपत्रे भएपश्चात् सडक अतिक्रमण गरेरै जुम्लादेखि नाग्मा खण्डमा दर्जनौँ घर टहरा निर्माण भए पनि यसको यकिन तथ्यांक डिभिजन कार्यालयसँग छैन।

अतिक्रमणले एकातिर सडक साँघुरिँदै गएका छन् भने, अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ। सडक सुरक्षा अभियान बजार हुँदै गाउँसम्म पुग्न सकेको नसकेको सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठले बताए।

उनले भने, ‘एकातर्फ जनशक्ति अभाव छ। अर्कोतर्फ विपद्ले कर्णाली राजमार्ग जोखिममा छ। यसपटक पहिलो प्रथामिकता सडक फराकिलो बनाउने रहेको छ। दुर्घटनाको जोखिम हटाउन पनि अतिक्रमण हटाउन आवश्यक छ।’ कर्णाली राजमार्गको स्तरउन्नतिको लागि बजेटको माग गर्न जुटिरहेको श्रेष्ठले बताए।

अतिक्रमण रोक्ने हाम्रो काम होइन : सहायक प्रजिअ

त्यस्तै, जुम्लाको बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक अतिक्रमण धेरै भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। उनले भनिन्, ‘यसअघि सडकमा नगरपालिका र प्रशासनको समन्वयमा बसपार्क क्षेत्रमा रहेका अस्थायी टहरा भत्काउने काम गरिएको थियो। सडक अतिक्रमण हटाउने काम सडक डिभिजनको हो। उनीहरुले बोलाएको खण्डमा सुरक्षाको लागि प्रशासन तयार छ।’

स्वार्थले बढायो अतिक्रमण  

चन्दननाथ नगरपालिका-४ का वडा अध्यक्ष तथा कार्यबाहक मेयर  नवराज देवकाले सडक व्यवस्थापनभन्दा पनि हरेक व्यक्ति आफ्नो स्वार्थका लागि सामाजिक हित बिर्सेर अघि बढ्दा सडक अतिक्रमण बढेको बताए।

 वडा, पालिका र सडक डिभिजनसँग समन्वय गरी राजमार्गलाई असर पर्ने गतिविधि गर्नेलाई रोक्नुपर्ने उनले बताए।

त्यस्तै चन्दननाथ नगरपालिका-५ वडा कार्यालय नजिकै दिल बहादुर रोकायाले सडक अतिक्रमण गरी  पक्की घर नै बनाएका छन्। तर, यो विषयमा पनि वडा कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ। तर यो घर बन्दा आफू वडा अध्यक्ष नभएको भन्दै ५ का वडाध्यक्ष बृर्खबहादुर कार्की पन्छिन्छन्।

उनले भने, ‘यो घर बन्दा म वडाध्यक्ष थिइनँ। म निर्वाचित भएर आउँदा यो घर बनिसकेको थियो। म वडाअध्यक्ष भएर आएपछि सडक अतिक्रमण गरेर कुनै पनि संरचना बन्न दिएको छैन।’ 

अतिक्रमण गर्नेमा पहुँचवाला र हुनेखाने धेरै

सडक अतिक्रमण गरी घर संरचना बनाउनेमा जुम्लाका हुने खाने र पहुँचवालाहरुको बाहुल्यता छ। चन्दननाथ नगरपालिका-५ का दिलबहादुर रोकाया जुम्ला बजारका फेन्सी  पसलका सञ्चालक हुन्। उनले सडक अतिक्रमण गरी पक्की घर मात्र बनाएका छैनन् तला थप्दै गएका छन्। उनलाई सडक अतिक्रमण गरी घर नबनाउन नगरपालिकाले दुईपटक पत्र पठाएको नगरपालिका बताउँछ।

त्यस्तै, चन्दननाथ नगरपालिका ५ कै लोकदर्शन श्रेष्ठको घर पनि सडक अतिक्रमण गरी बनेको देखिन्छ। सडक डिभिजन जुम्लाका अनुसार नापी कार्यालय जुम्लाले रेकाङ्कीमा लोकदर्शन श्रेष्ठ र सोही स्थानमा दैलेखका राजु खत्रीको घरले पनि सडकको सीमा मिचेको सडक डिभिजन कार्यालय बताउँछ।

लोकदर्शन श्रेष्ठ नेपाल रेडक्रस सोसाइटी जुम्लाका जिल्ला सभापति हुन्। श्रेष्ठ आफ्नो घर सडक निर्माण हुनुभन्दा पहिला नै बनेको  बताउँछन्।  उनले भने, '२०६९ सालतिर नापी कार्यालयमा वीरबहादुर बस्नेत कार्यालय प्रमुख हुनेबेला  नापेर घर बनाएको हुँ। अहिले सडक अतिक्रमण भयो भनेर हुँदैन।'

बढ्दो दुर्घटना जोखिम

अतिक्रणले सडक साँघुरिँदै गएपछि दुर्घटनाको जोखिम बढेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले बताए। उनका अनुसार बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक साँघुरो भएपछि दुर्घटनाको जोखिम बढेको हो।

दैनिक सवारी चाप हुने बसपार्क र तातोपानी स्थानीयको लापरबाही, सवारी चालकहरूले मनपरी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको आचार्यले बताए।

उनले भने, ‘राजमार्गसँग जोडिएको सडक अतिक्रमणले दुर्घटनाको जोखिम बढेको छ। यो  विषय सडक डिभिजनले तुरुन्तै समाधान गर्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.