|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन्।

अध्यक्ष ओलीको निवास बालकोटमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिए। भेटमा अध्यक्ष ओलीले दुवै देशबीच घनिष्ठ, नमुना र जनस्तरको सम्बन्ध रहेको बताए। उनले दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा राखे। उनले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर अघि बढ्नुपर्ने बताए।

विदेशसचिव क्वात्राले दुवै देशबीचको सम्बन्ध राम्रो अवस्थामा रहेको भन्दै द्विपक्षीय सहमति कार्यान्वयनको तहमा रहेको र कार्यान्वयन नभएका सहमतिलाई पनि अघि बढाउने सहमति भएको जानकारी गराए।  

क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै भेटवार्ता गरेका थिए। उनी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै सचिवस्तरीय बैठकमा सहभागी भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.