विज्ञका यस्ता छन् सुरक्षित हुने उपाय

|

काठमाडौं : एलपी (खाना पकाउने)ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ। कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार आज बिहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो। 

हिजो राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर लिक हुँदा उनीसहित उनका छोरा सांसद  भण्डारीसमेत घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा आमाको मृत्यु भयो भने छोरा भण्डारीलाई भने थप उपचारका लागि भारत लगिएको छ।

ग्यासको गन्ध आएपछि किचनमा पुगेर बत्ती बालेलगत्तै आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यी मात्र होइन यस्ता घटना बारम्बार दोहोरिँदै आएको छ।

आजै मात्र दाङको तुलसीपुर उपमहानगरपालिका– १५ मा खाना पकाउने ग्यास सिलिन्डरमा लिक भएर आगलागी हुँदा दुईजना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो। सिलिन्डर लिक हुँदा लहलौराका ५० वर्षीय कुसुम केसी र तुलसीपुर– १५ मै बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन्। उनीहरूको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बारम्बार किन दोहोरिन्छन् यस्ता दुर्घटना?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्टा सर्वसाधारणहरू बेलैमा सचेत नहुँदा यस्ता घटनाहरू भइरहेको बताउँछन्। उनले भने, ‘ग्यास सिलिन्डरको क्वालिटी पनि हेर्नुपर्छ,खाना पकाइसकेपछि रेगुलेटर बन्दा गरिहाल्नुपर्छ, तर, प्रायले यस्तो गर्दैनन्,यस्तो गर्दा लुज भई कहिलेकाहीँ ग्यास लिक हुन सक्छ,यी कुराहरूमा मान्छेले प्रायः याद नै गर्दैन।’

उनले समय समयमा रेगुलेटर चेक गर्नुपर्ने र समस्या आए तत्काल फेर्नुपर्ने बताए। उनले उपभोक्ताहरूले मिति हेरेर मात्र सिलिन्डर प्रयोगमा ल्याउन आवश्यक रहेको पनि जानकारी दिए। जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ग्यास लिक भएपछि हावामा फैलिएको ग्यासले आगोको सानोभन्दा सानो झिल्को सम्पर्कमा आए तत्काल आगो समाइ हाल्छ। ग्यास लिक हुनुको प्रमुख कारण मिति नाघिसकेका सिलिन्डर नै हो। यस्ता सिलिन्डरबाट ग्यास लिक हुने प्रबल सम्भावना  हुन्छ।

फायर फाइटर किशोर कुमार भट्टराईले पनि सर्वसाधारणहरूमा चेतना नहुनु र केही लापरबाहीका कारण पनि यस्ता घटना भएको बताउँछन्। उनका अनुसार ग्यास लिक भएमा के गर्ने भन्ने जनचेतना पनि छैन। ग्यास लिक भएपछि कोठामा भरिन्छ। यस्तो बेला बिजुली बत्ती बाल्न हुँदैन।

कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ र स्विच अन वा अफ गर्दा निस्कने झिल्कोले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गरी आगो लाग्ने गरेको उनको भनाइ छ। उनले ग्यास सकिन लाग्दा कतिपय सर्वसाधारणहरूमा सिलिन्डर ढल्काउँदा ग्यास बल्ने भन्ने गर्छन्। तर  यो भ्रम हो। यसो गर्नु खतरा हो। 

उनले भने,‘सिलिन्डर ढल्काउँदा ग्यासभित्र भएको तरल पदार्थ बाहिर निस्किन्छ, झनै आगो बालेको अवस्था सिधै आगलागी हुन्छ, आगलागी भएपछि मान्छेले छोडिदिन्छ अनि सिलिन्डर पड्किन्छ,’उनले भने।

उनका अनुसार सिलिन्डरमा ८५ प्रतिशत लिक्विट हुन्छ। १५ प्रतिशत खाली भागमा ग्यास बन्छ। ‘त्यो १५ प्रतिशत ग्यास चुलोमा गएर बल्छ, त्यो जति घट्छ उत्पादन हुँदै पनि हुँदै आउँछ, सिलिन्डर लडाउँदा लिकुइट जान्छ,’उनी भन्छन्। 

उनका अनुसार सिलिन्डरको आयु १० वर्ष हुन्छ। त्यो मिति सिलिन्डरमा नै राखिएको हुन्छ। त्यो कटेमा साटिहाल्नुपर्छ। उनले सिलिन्डर लडाउने,घोप्टो पार्ने र जोड पर्ने गरि फ्याक्नु नहुने बताए। चुलोमाथि राखेर प्रयोग गर्न नहुने र अनावश्यक रूपमा घरमा भण्डारण गरेर राख्न पनि  नहुने  बताए।

आगलागी भए कसरी निभाउने?

फायर फाइटर भट्टराईका अनुसार एलपिजी ग्यासको लिलिन्डरमा रेगुलेटरबाट पाइप छुटेर आगलागी हुन्छ। यस्तो बेला हामीले नआत्तीकन औँलाले छेकेर पनि आगो निभाउन सकिन्छ।

‘एलपिजी आफैँमा चिसो ग्यास हो,’उनले भने,‘चिसो ग्यास रेगुलेटरबाट बाहिर निस्किँदा करिब एक इन्च जति आगो र रेगुलेटरको बीचमा ग्याप हुन्छ, त्यो ग्यापलाई हामीले औँलाले छेक्यो भने आगो निभ्छ र औँलालाई आगोले पोल्दैन।’

यस्तै उनले अर्को उपाय भनेको रेगुलेटरबाट आगो निस्केको अवस्थामा हामीले सामानले छोपेर पनि निभाउन सकिने जानकारी दिए।

‘आगलागी भएको स्थलमा पर्दा, तन्ना कार्पेट जस्ता समानले पिटेर वा छोपेर आगो निभाउन सकिन्छ, ग्यासबाट चुलो पट्टिको पाइप छुटेर आगो लागेको अवस्थामा नआत्तीकन ३ औँलाको सहायताले पाइप भाँचेर नियन्त्रण गर्न सकिन्छ,’उनले भने।

उनले औँलाले ब्लक गरेर पनि आगो छेक्न सकिने बताए। ‘रेगुलेटरबाट आगलागी भएमा बाल्टिनले छोपेर पनि नियन्त्रण गर्न सकिन्छ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.