|

म्याग्दी : म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। 

महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरूले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।

बेनी बजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनले पूजाआजा गरेका छन्।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गको पूजा अर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए।

महाशिवरात्रि पर्वका दिन भक्तजनहरूले शुद्ध भई ‘ॐ नमः शिवाय’ मन्त्र जप्दै पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय बस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता छ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा प्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ।

महाशिवरात्रि पर्वलाई भव्य र सभ्य रूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिमार्फत काम गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

महाशिवरात्रिमा गलेश्वरमा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपूजा गर्दछन्। शिवरात्रि पूजाको व्रतकालमा भगवान् शिवजीको ध्यान, पूजा र जप गर्ने गरिन्छ।

यसैबीच म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि मङ्गलबार बिहानैदेखि भक्तजनको भीड लागेको छ। गलेश्वर शिवालयभन्दा नजिकमा रहेको बेनी शिवालयको १०८ शिवलिङ्गमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ। शिवरात्रिका अवसरमा श्रद्धालुलाई सहज रूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ।

शिवरात्रिमा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी पूजा गर्छन्। खासगरी हिन्दू धर्मावलम्बीले महाशिवरात्रि पर्व मनाउँछन्। फागुन कृष्ण चतुर्दशी तिथिका दिन पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास छ।

गलेश्वर शिवालयमा ११ वटा गौमुखी धारा जडान भएको छ। गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकीको जलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.