|

म्याग्दी : स्वास्थ्य पर्यटनको उत्कृष्ट गन्तव्य बनेको प्राकृतिक चिकित्सालय म्याग्दीको सिंगा तातोपानी कुण्डमा ३१ जिल्लाका नौ हजार बढी बिरामी उपचारका लागि आएका छन्।

म्याग्दीको बेनी नगरपालिका –४ मा पर्ने तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिनका लागि विरामीहरु यहाँ आएका हुन्।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ मसान्तसम्म  नौ हजार १ सय ९८ जनाले कुण्डमा डुवेर उपचार सेवा लिएका छन्।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले माघ महिनामा सबैभन्दा बढी दुई हजार ३ सय ८० जनाले स्नान गरेका जानकारी दिए।

उनका अनुसार साउनमा २ सय २४, भदौमा ४सय ११, असोजमा एक हजार ९ सय २, कात्तिकमा एक हजार ५ सय ४८, मंसिरमा एक हजार ३ सय १९ र पुषमा एक हजार ३ सय ८० जनाले स्नान गरेका छन्।

बागलुङ, कास्की, मुस्ताङ, पर्वत, काठमाडौ, चितवन, कपिलवस्तु, नवलपुर, गोरखा, लमजुङ, सुनसरी, रामेछाप, बर्दिया, गुल्मी, प्युठान, तनहुँ, स्याङ्जा, पाँचथर, मकवानपुर, रोल्पा, मोरङ, झापा, धादिङलगायत ३१ जिल्लाबाट स्नानका लागि आएका अध्यक्ष शाक्यले जानकारी दिए।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३ सय ५० देखि ४सय जनाले स्नान गर्न सक्ने क्षमता छ। सातदेखि दश दिन स्नान गर्नका लागि कुण्ड व्यवस्थापन समितिलाई प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ शूल्क तिर्नुपर्छ।

विरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

 एक दिनमा दुईपटक दुई-दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कँदासम्म विश्राम गरिन्छ। छोटो समयका लागि स्नान गर्नेहरुलाई छुट्टै पोखरी बनाइएको छ। त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति २ सय  रुपैयाँ शूल्क तोकिएको छ।

महिला र पुरुषलाई फरक फरक समय तालिका बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ। दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा सामूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।

 स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ। तातोपानी कुण्डबाट आम्दानी भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.