|

काठमाडौं : सरकारले वैदेशिक रोजगारीको शिलशिलामा दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा जान रोक लगाएको छ। 

वैदेशिक रोजगारीमा घरेलु महिला कामदारका लागि कडाई गर्दै आएको सरकारले बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको हो। पछिल्लो समय बाइक राइडर र ट्याक्सी ड्राइभरका रुपमा काम गर्न दुबई र कतार पुगेका अधिकांश श्रमिकहरु समस्या परेको उजुरी तथा गुनासो आएपछि वैदेशिक रोजगार विभागले ती पदको पूर्वस्वीकृति नदिने निर्णय गरेको छ।

यही फागुन ८ गते विभागले निर्णय गर्दै दुबई र कतारस्थित नेपाली राजदूतावासलाईसमेत उक्त पदहरुको मागपत्र प्रमाणीकरण नगर्न आग्रह गरेको छ। विभागकाअनुसार समस्यामा परेका श्रमिकहरुले स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको, अधिकांश श्रमिकहरू धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो रकम जरिवाना बुझाउनु परेको र सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटनासमेत हुने गरेको छ।

बाइक राइडर र ट्याक्सी ड्राइभरमा पठाउन सुरक्षित नदेखिएकाले अर्को निर्णय नभएसम्मको लागि पूर्वस्वीकृति प्रदानमा रोक लगाइएको वैदेशिक रोजगार  विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘श्रमिकले भोग्नु परेको समस्याहरुसहित दिनहुँजसो विभागमा उजुरी तथा गुनासोहरू आइरहेकोले यी मुलुकहरूमा बाइक राईडर र ट्याक्सी ड्राईभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मको लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने भनी मिति २०७९/११-८ मा निर्णय भएको र उक्त पदहरुको मागपत्र प्रमाणीकरण नगर्नुहुन भनी दुबई र कतार स्थित नेपाली राजदूतावासमा समेत अनुरोध गरिएको व्यहोरा जानकारी गराइन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.