समयमा प्राप्तांक नपठाए नतिजा रद्द हुने

|

काठमाडौं : कक्षा ११ र १२ को आन्तरिक (प्रयोगात्मक) परीक्षाको मूल्याकन गर्दा केरमेट र टिपेक्स प्रयोग गर्न नपाइने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भर्ने नमूना फाराम तथा निर्देशन २०७८ मा उक्त कुरा उल्लेख गरेको हो।

आन्तरिक (प्रयोगात्मक) परीक्षाको मूल्यांकन सम्बन्धमा कक्षा-१२ का फिजिक्स,बायोलोजी, केमेष्ट्री, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयहरूमध्ये आफ्नो विद्यालयमा सञ्चालन भएको विषयहरूको आन्तरिक परीक्षा तोकिएको समयभित्र सम्पन्न गर्न परीक्षा बोर्डले निर्देशन दिएको छ।

बोर्डले समयमा आन्तरिक परीक्षा सकेर उपलब्ध गराएको सिष्टममा इन्ट्री, रुजु गरेपश्चात अन्तमा हार्डकपी प्रमाणित गरी बोर्डको सम्बन्धित कार्यालयमा तोकिएको समयभित्र उपलब्ध गराइसक्न भनेको छ।

यस परीक्षाको लागि आन्तरिक परीक्षक सम्बन्धित विद्यालयले व्यवस्था गर्नेछ र बाह्य परीक्षक बोर्डको सम्बन्धित कार्यालयबाट नियुक्त गरिने बोर्डले जनाएको छ।

‘उक्त परीक्षाको समय तालिका सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले परीक्षा बोर्डको कार्यालयसँग समन्वय गरी निर्धारण गर्नुपर्नेछ, बायोलोजी विषयको आन्तरिक अंक प्रदान गर्दा ल्याबोरेटरी एक्सपेरिमेन्टमा दिएको कूल अंकमध्ये जुलोजी र बोटनीलाई आधा–आधा अंक छुट्याई दुवै विषयको प्राप्त अङ्कलाई एकमुस्ट उल्लेख  गर्नुपर्नेछ,’ फाराम तथा निर्देशनमा उल्लेख छ।

त्यस्तै, माथि उल्लेखित पाँच विषयबाहेकका अन्य विषयहरूको आन्तरिक परीक्षा तोकिएकै समयभित्र सम्पन्न गरी बोर्डले उपलब्ध गराएको सिष्टममा इन्ट्री, रुजु गरेपश्चात् अन्तमा सोको हार्डकपी प्रमाणित गरी तोकिएकै समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ।

‘आन्तरिक परीक्षक सम्बन्धित विद्यालयको विषय शिक्षक र बाह्य परीक्षकको हकमा सम्बन्धित विद्यालयको विषय शिक्षकबाहेक सोही विषयमा स्नातकोत्तर गरेको विद्यालयको शिक्षक वा सोही विषयमा स्नातकोत्तर गरी फरक विद्यालयमा अध्यापन गराइरहेको शिक्षकलाई विद्यालयले नियुक्त गर्न सक्नेछ,’ नमूना फाराम तथा निर्देशनमा भनिएको छ।

बाह्य परीक्षक उपलब्ध नभएको खण्डमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले समेत बाह्य परीक्षकको भूमिका निर्वाह गर्न सक्ने बोर्डले जनाएको छ।

‘विद्यार्थीको भाइवा लिने क्रममा सम्बन्धित विषय शिक्षक (आन्तरिक परीक्षक) का अतिरिक्त सोही विषयको अन्य शिक्षक वा बाह्य परीक्षक वा प्रधानाध्यापकको सहभागिता हुनुपर्ने पनि व्यवस्था गरिएको बोर्डले बताएको छ।

‘आन्तरिक (प्रयोगात्मक) परीक्षा सञ्चालन गर्दा विषयगत रुपमा पाठ्यक्रमले निर्दिष्ट गरेको विभिन्न क्रियाकलापहरूलाई समावेश गर्न सकिनेछ,’ नमूना फाराम तथा निर्देशनमा भनिएको छ, ‘आन्तरिक विषयको परीक्षाको लागि आवश्यक सामग्री र उत्तरपुस्तिका सम्बन्धित विद्यालयले नै उपलब्ध गराउनुपर्नेछ, परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध नमूनाअनुसारको फाराममा उल्लेख भए अनुसारका विवरणहरू खुलाई आन्तरिक परीक्षाको प्राप्ताङ्क भरी पठाउनुपर्नेछ।’ 

परीक्षा बोर्डले प्राप्ताङ्क चढाउँदा विद्यार्थीको नाम र रजिष्ट्रेशन नम्बर रुजु गरी चढाउनू भनेको छ। नमूना फाराम तथा निर्देशनमा भनिएको छ, ‘कुनै कारणवश प्राप्ताङ्क केरमेट गर्नुपर्ने भएमा एकपटक मात्र काटी दुवैतर्फ हस्ताक्षर गरी पठाउनुपर्नेछ, टिपेक्सको प्रयोग गर्न पाइने छैन, आन्तरिक र बाह्य परीक्षकको अनिवार्य हस्ताक्षर गरी प्रत्येक प्राप्ताङ्क फाराममा सम्बन्धित विद्यालयको प्रधानाध्यापकको हस्ताक्षर एवं विद्यालयको छाप अनिवार्य रुपमा लगाउनुपर्नेछ।’

समयमा प्राप्ताङ्क नआए नतिजा रद्द हुने

परीक्षा बाेर्डले समयमै विषयगत आन्तरिक (प्रयोगात्मक) प्राप्ताङ्कहरू नपठाए नतिजा रद्द गर्ने पनि व्यवस्था गरेको छ। प्राप्तांक भर्ने नमूना फाराम तथा निर्देशनमा भनिएको छ, ‘प्राप्ताङ्कहरू प्राप्त हुन नआई नतिजा रद्द भएमा सम्बन्धित विद्यालयका प्राचार्य स्वयं नै जवाफदेही हुनेछन् आन्तरिक विषयको प्राप्ताङ्क भरी पठाउँदा विद्यार्थीको रजिष्ट्रेशन नम्बरअनुसार क्रमबद्ध मिलाई पठाउनुपर्नेछ।’

यस्तै, लेटर ग्रेडिङ्ग निर्देशिका, २०७८ अनुसार आन्तरिक मूल्याङ्कनमा तोकिएको ग्रेड प्राप्त नभइ वार्षिक परीक्षामा संलग्न भएको विद्यार्थीको परीक्षा रद्द हुने भएकाले यसमा विशेष सजगता अपनाउनु बोर्डले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.