|

ललितपुर : गोदावरी नगरपालिकाका ६ वटा वडाका वनमा डढेलो लागेको छ। 

तीन दिनअघि वडा नम्बर ३ गोदावरीबाट सल्किएको आगो वडा नम्बर ४ बडिखेल, वडा नम्बर ५ लेले, वडा नम्बर १० टाहाखेल झ्यालुन्टार हुँदै अहिले वडा नम्बर ६ टीकाभैरवमा पुगेको छ। 

लेलेकी अजिता थापाले डढेलो नियन्त्रण गर्न खासै पहल नभएको गुनासो गरिन्। ‘२-३ दिनदेखि आगो लागिरहेको छ। स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् , उनले भनिन्,  ‘तर आगो नियन्त्रणमा स्थानीय तह लगायत डिभिजन वनको भूमिका खासै देखीएको छैन।’

खासगरी फूलचोकी जंगल क्षेत्रबाट फैलिएको आगो विस्तारै अगाडि बढिरहेको हो। लेलेको डिगाउँ र महतगाउँ, १० नम्बर वडाको सल्यान, मुलडोल, टाहाखेल तथा ६ नम्बर वडाको फैडोल र टीकाभैरवमा यो वन डढेलोले गर्दा वरपरको वातावरणमा प्रदूषण फैलिएको छ।

‘वनभन्दा ठ्याक्कै तलको वस्तीमा आगो जान्छ कि भन्ने जोखिम थियो। तर त्यसो भएन’, वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले भने ‘यो आगोको ट्रेण्ड हेर्दा हामीले मात्र यसलाई नियन्त्रण गर्न सक्दैनौँ। सोमबार मात्र हामी करिब ७० जनाको टोली बनाएर वनमा फायर लाइन बनाएका छौँ। 

उनका अनुसार माथितिर आगो निभाउने प्रयास गरे पनि धेरै सल्लाका रुख भएकाले त्यसका गट्टा गुडेर सल्किँदै फेरि तल आगो सल्किँदा नियन्त्रणमा कठिनाइ भएको हो। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले डढेलो नियन्त्रणका लागि केही गर्न नसकेको बताए। 

‘आगो नियन्त्रण हाम्रो बसमा छैन। छिटो आगो सल्किरहेको छ , उनले भने, ‘त्यसका लागि डाँडासम्म पुग्ने न पूर्वाधार छ नत हाम्रो दमकलले नै भ्याउने अवस्था छ।’ आगो अगाडि बढिरहेको टीकाभैरव क्षेत्रमा दमकल तयारी अवस्थामा राख्ने तयारी भएको उनले बताए। यो क्षेत्रमा जंगल नजिकै आनन्दवन अस्पताल रहेको छ। ६ नम्बर वडाका वडा अध्यक्ष विष्णुमान मर्हजनले भागावन डाँडामा लागेको डढेलोबाट सतर्क रहन आग्रह गरे। 

डिभिजन वन कार्यालय ललितपुरका प्रमुख हेमबहादुर थापाका अनुसार ललितपुरका ५० प्रतिशत वनमा आगलागी भइरहेको छ। उनका अनुसार पछिल्लो समय फूलचोकी क्षेत्रका धेरै वनमा आगलागी भइरहेको हो। ललितपुरका ५० प्रतिशत वनमा आगलागी भएको छ’, उनले भने, ‘जिल्लाका महाँकाल गाउँपालिकाका जंगलमा भने आगलागी भएको छैन। 

यो डढेलोले ठूला वन्यजन्तुलाई त्यत्ति असर नगरेपनि साना-साना जीव र घस्रेर हिँड्ने जनावरलाई असर गरेको डिभिजनल अधिकृत थापाले बताए। ‘हेर्दा यो जंगलमा भिषण आगलागी भएको देखिए पनि रुखको फेदतिर र झाँडीमा मात्र आगलागी भएको छ , उनले भने, ‘ठूला ठूला रुखको पातसम्म नै यो आगो पुगेको छैन। तसर्थ रुखबिरुवा पनि जंगलमा डाइङ ब्याक हुन्छ। ’

वडा नम्बर २ र ३ का जंगलमा फैलिएको आगो भने स्थानीयको प्रयासमा सोमबार नियन्त्रणमा आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.