|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या आफ्नै नातिले गरेको खुलासा भएको छ। हत्या बिहीवार राति भएको थियो।

घटनामा संलग्न भएको आशंकामा शुक्रवार पक्राउ परेका सालघारी घर भएका २२ वर्षीय निरज कटुवालले आफूले मानबहादुरको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ।

कटुवालले हत्या गरेका मानबहादुर आफ्नै मावली हजुरबुबा भएको प्रहरीले जनाएको छ। उनले प्रहरीसामु अझै ५ जनालाई काट्ने धम्की दिएका छन्।​

बस्नेतको घरभन्दा १५ मिनेट टाढा सालघारी घर भएका नाति निरज कटुवालले राति आाएर मावली हजुरबुबाको हत्या गरेको प्रहरीलाई वयानमा बताएका छन्।

रातमा मावली हजुरबुबा सुतेको कोठामा गएर हलोको अनौ फुकालेर हानेको कटुवालले प्रहरीलाई बताएका छन्। अनौले हान्दा तत्काल नमरेको र लामो समय छटपटाएपछि खुकुरी ल्याएर घाँटी छिनाएको कटुवालले बयानमा बताएका छन्।

घाँटी काटे पनि छटपटाउन नछाडेपछि हातगोडामा खुकुरीले काटेको र त्यसपछि बस्नेतको टाउको खोलाछेउमा लगेर ढुंगामाथि राखेको प्रहरीलाई बताएका छन्।

ढुंगामाथि राखेर हेर्दा पनि बस्नेतले आँखा हेरिरहेको र नमरेको भन्दै कान काटेर गोजीमा हालेको र बाँकी भाग ढुंगाले किचेर लिचीको फेदमा लगेर पुरेका थिए।

मावली हजुरबुबाको टाउको लिचीको फेदमा पुरेर कटुवाल आफ्नो घरमा गएर सुतेका थिए।

मृतक बस्नेतका भाइ कमल बस्नेतले शुक्रवार बिहान उठेर दाजुको कोठामा जाँदा मरिरहेको देखेका थिए। त्यसपछि उनले हल्लाखल्ला गरेका थिए।

घटना भएको थाहा पाएपछि स्थानीय बासिन्दाले लेगुवा प्रहरी चौकीलाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी नरेन्द्र कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घरभन्दा १ किलोमिटर पर घरनजिकै लिचीको फेदमा गाडेको अवस्थामा एउटा कान र टाउको फेला फेला परेको थियो। एउटा कान भने कटुवालले खल्तीमा हालेर सुतेको अवस्थामा प्रहरीले फेला परेको थियो।

घटनास्थलदेखि बस्नेतको टाउको करिब १ किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए।

बस्नेतको शव पोष्टमार्टम शनिवार जिल्ला अस्पताल धनकुटामा नभएपछि बिपी कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रहरीले जनाएको छ। बस्नेतको शव धरानमा पोष्टमार्टम गरी शनिवार साँझ लेगुवास्थित अरुण नदीमा सतगद् गरिएको प्रहरीले जनाएको छ।

कटुवालले गाँजा खाने गरेको र बस्नेतले यस्तो चिज खानु हुँदैन भनेर सम्झाउँदा रिसाउने गरेका थिए। कटुवालले नशाको आवेगमा मावली हजुरबुबाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.